२०८३ वैशाख २७ , आइतबार

सांसद शर्माद्धारा दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनील शर्माले दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले बुधबार दैलेखको आठबीस नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गराएका हुन् ।

दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाही र आठबीस नगरपालिकासँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा १ हजार ३ सय २२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १८९ जनाको मुटुको जाँच ईसीजी, २१७ जनाको रक्त परीक्षण र ३१० जनाको भिडियो एक्सरे गरिएको छ ।

त्यस्तै, दाँतमा समस्या भएका २९ जनाको दाँत फुकालिएको छ । शिविरमा उपचार सम्भव नभएका ५४ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ । केएमसीका सञ्चालकसमेत रहेका सांसद शर्माले रेफर भएका बिरामीलाई केएमसीमा निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाइदिएका छन् ।

बिरामीलाई अस्पतालसम्म लैजाने व्यवस्था भने आठबीस नगरपालिकाले मिलाउनेछ । सांसद शर्माका अनुसार सो टोलीले बिहीबार दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा पनि शिविर सञ्चालन गरेर बिरामीहरूको निःशुल्क उपचार गरिरहेको छ । कांग्रेस नेतासमेत रहेको सांसद शर्माले देशका विभिन्न जिल्लामा विशेषज्ञ डाक्टरको टोली पठाएर गरिब तथा विपन्न बिरामीको निःशुल्क उपचार गराउँदै आएका छन् ।

प्रकाशित मिति : २०८० जेठ १८ गते बिहीबार