
सुर्खेत । परिलक्षित संस्थाद्धारा सञ्चालित शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत सुर्खेतका तीन स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरूलाई आय आर्जन गर्नका लागि बाख्रा र बङ्गुर पालन सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । वीरेन्द्रनगर, भेरिगंगा, र गुर्भाकोट नगरपालिकामा ११ जनालाई बाख्रा र ४ जनालाई बङ्गुर पालन गरी १५ जनालाई बाख्रा तथा बङ्गुर पालन सम्बन्धी २ दिने तालिम सम्पन्न भएको हो ।
जसअन्तर्गत वीरेन्द्रनगरका ५ जनालाई बाख्रा र १ जना बङ्गुर, भेरिगंगाका ५ जना बाख्रा पालन र गुर्भाकोटमा १ जना बाख्रा र ३ जना बङ्गुर पालन गरिरहेका व्यक्तिलाई बाख्रा तथा बङ्गुर पालन सम्बन्धी तालिम सिकाइएको थियो ।
उक्त तालिमको प्रशिक्षण वीरेन्द्रनगर नगरपालिका पशुपक्षी शाखाका डा.उमेश गिरिले वीरेन्द्रनगरमा र भेरिगंगा नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख भोजराज चपाइले भेरिगंगा र गुर्भाकोटमा सहजीकरण गरेको परिलक्षित संस्थाका फिल्ड कार्यक्रम अधिकृत राजु लामिछानेले जानकारी दिए ।
तालिमको अन्तिम दिन तालिममा सहभागी १५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय स्तरमा विभिन्न व्यक्तिले व्यावसायिक रूपमा पालेका स्थानीय तथा उन्नत जातका बाख्रा तथा खोरको अवलोकन समेत गराइएको थियो ।

