सुर्खेत । रुकुम पश्चिम माओवादीका आधार इलाका हो । यहाँ माओवादीको विरासत अझै पनि उस्तै रहेको र तीन महिने ‘जनतासँग माओवादीको विशेष रुपान्तरण अभियान’ले थप रुपान्तरित हुने अपेक्षा गरिएको माओवादी केन्द्र रुकुम पश्चिम इञ्चार्ज गगन खड्काले बताए ।
अभियान सञ्चालनबारे खड्काको भनाई जस्ताको त्यस्तैः
यहाँ अभियान प्रभावकारी ढंगले सञ्चालन भइरहेको छ । तुलनात्मक रुपमा अन्यत्र भन्दा रुकुममा माओवादी व्यवस्थित छ । जनाधार र संगठनात्मक बेस राम्रो भएरपनि होला, यहाँ माओवादीको प्रभाव विगतको जस्तै छ । हामीले जिल्ला समन्वय समितिको बैठक सम्पन्न गरिसक्यौँ ।
लगत्तै सबै पालिकाहरुको बैठक पनि सम्पन्न गरिसकेका छौँ । वडा, टोलहूँदै सेल कमिटीको बैठक हामीले सम्पन्न गर्ने र त्यही गतिमा अन्य मोर्चाका बैठक पनि गर्ने तयारीमा छौँ ।
धेरै ठाउँमा टोल कमिटीका बैठकहरु सम्पन्न भइसकेका छन् । जिल्लाका सम्पुर्ण नेता, कार्यकर्ताहरु टोल कमिटीको बैठकमा व्यस्त हुनुहुन्छ । सबै पालिकाहरुमा साथिहरु युद्धस्तरमा लागिरहनुभएको छ । एकाध ठाउँमा साथिहरु बिरामी, असक्तका कारण छुटेको भएपनि जिल्लामै भएको शक्तिबाट काम गरिरहेका छौँ ।
यो काम सकिएपनि जिल्लातिर तलसम्मै जनवर्गीय संगठनहरुको बैठक सम्पन्न गर्ने प्रक्रियामा छौँ । आज मात्रै हामीले अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को बैठक सदरमुकाममा सम्पन्न गरेका छौँ । रुकुममा अभियान राम्रो भइरहेको छ । जनता, कार्यकर्ताकाबीचमा छलफल बहसहरु भइरहेका छन्, जसले जनतामा एउटा उत्साह पैदा गरिरहेको छ ।
यो अभियानले माओवादीमा एउटा ज्यान पैदा गरेको छ । जागरुकता ल्याएको छ । पार्टी सदस्यता नवीकरण गर्ने, नयाँ साथिहरुलाई सदस्यता दिने, जनसेवामा जोडिने कुरा, सामाजिक, सांस्कृतिकदेखि विकास निर्माणका कामहरु पनि सबै ठाउँमा चलिरहेका छन् । यो त अभियानको डिउटी नै हो । भदौमा संगठनात्मक काम सम्पन्न गर्ने र असोजमा अभियानलाई प्रभावकारी रुपमा केन्द्रीत हुनुपर्छ भनेर सोचिरहेका छौँ । अहिले बाहिर रहेका मान्छेहरु गाउँमा आउँछन्।
यो अभियानले पार्टी र नेतृत्वप्रति जुन आशंका, अविश्वास छ, त्यो करिब मेटिँदै जान थालेको अवस्था छ । जनता र पार्टीबीच सम्बन्धलाई समधुर बनाउन हामी सफल हुन्छौँ भन्ने कुरामा विश्वास पैदा भएको छ ।
रुकुममा माओवादी सुदृढ नै छ । यो अभियानपछि अझ सुदृढ हुन्छ नै । एउटा तागद, शक्ति आर्जन गर्ने अभियान हो, यो । उस्तै परे अभियानले तुफान चलाउने कुरा हो । भनेपछि तागद पैदा भएको छ र पार्टी कमिटीलाई सुदृढ गर्ने कुरादेखि जनतालाई संगठनहरुमा गोलबद्ध गर्ने कुरामा अभियानले थप साथ दिने छ ।
जनता र पार्टीबीचको दुरी घटाउने कुरामा झन यो अभियानले ठुलै अर्थ राख्छ । अहिले हाम्रै अध्यक्ष सरकारको नेतृत्वमा हुनुहुन्छ । भ्रष्टचार र दलालविरुद्ध एउटा अभियान नै चलिरहेको छ। यो कुरा हामीले जनतालाई बुझाइरहेका छौँ । कतिपय सत्तामा रहेका जनप्रतिनिधि, नेता, कार्यकर्तामा पनि जनअनुकुलको कार्यशैली नहुँदा जनता रिसाएको जस्तो छ । यो अभियानले त्यसलाई चिरफार गर्ने छ ।
इञ्चार्ज खड्कासँगको कुराकानीमा आधारित
#‘घर–#घरमा #माओवादी, #जन–#जनमा #माओवादी’