२०८३ वैशाख २६ , शनिबार

इन्द्र ज्योति माविमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिका–६ मा रहेको इन्द्र ज्योति माविमा हिन्दु नेपालीहरूको महानपर्व बडादशै तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधवार विद्यालयको आयोजनामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार शाहीको सभाध्यक्षता र शिवालय गाउँपालिकाकी उपाध्यक्ष गीता शाहीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापक शर्मिला रावल शाहीले पछिल्लो समय विद्यालयमा धेरै नै सुधार हुँदै गएको बताइन् । उनले विद्यालयमा सुधारका कामहरू रफ्तारमा नभई बिस्तारै हुँदै गएको जानकारी दिइन् । उनले विद्यालय राष्ट्रका कर्णधार उत्पादन गर्ने थलो भएकोले नयाँ र उत्पादनमुखी कार्यक्रम सञ्चालन गरी विद्यार्थी सङ्ख्या बढाइने तयारीमा रहेको बताइन् ।

कार्यक्रमकी प्रमुख अतिथि एवम् गाउँपालिकाकी उपाध्यक्ष शाहीले आफूले पनि विगतमा यही विद्यालयमा अध्ययन गरेको स्मरण गर्दै विद्यालयलाई गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । यस्तै कार्यक्रममा नेपाली काँग्रेस शिवालय गाउँपालिकाका कार्यसमिति सचिव कृष्ण शाहीले विद्यालयलाई कसैले पनि राजनीतिक रूपमा नलिन आग्रह गरे । उनले विद्यालयको लागि सबैले आ–आफ्नो ठाउँबाट एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले दशैं तिहारसँग सम्बन्धित गीतहरूका साथै आफ्ना विभिन्न नृत्यहरू प्रस्तुत गरेको विद्यालयका लेखापाल शेरबहादुर शाहीले जानकारी दिए । उनकाअनुसार उक्त शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षक शिक्षिकाहरूले पनि नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा विव्यस अध्यक्ष शाहीले शैक्षिक गुणस्तरलाई सुधार्न आफ्नो कार्यकाल भरि कुनै पनि कसर बाँकी नराख्ने बताए ।

आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शिवालय गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेत, सूचना अधिकारी प्रमोद न्यौपाने, गाउँपालिका पूर्व अध्यक्ष नरेन्द्रकुमार शाही, हिमालय आधारभूत विद्यालयका प्रअ पूर्ण केसी, पश्चिम जाजरकोट विकास समाज शिवालय गाउँपालिकाका कार्यक्रम व्यवस्थापक रामप्रसाद जैसी, विद्यालयका शिक्षक÷शिक्षिका, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू अभिभावक सहित समाजसेवी एवं बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन भने कक्षा १० मा अध्ययनरत छात्र कमल परियार र छात्रा लक्ष्मी शर्माले गरेको लेखापाल शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधबार