
रुकुम पश्चिम । भूकम्प प्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चारमाध्याम र दुरसञ्चारको अवस्था निरीक्षणका लागि रुकुमपश्चिम आइपुगेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखाले १२ बुँदे माग पत्र पेश गरेको छ ।
पत्रकार महासंघ रुकुमपश्चिमले भूकम्प प्रभावित पत्रकार र सञ्चारमाध्यामहरुको हितका लागि मागपत्र पेश गरेको हो । आइतबार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले मन्त्री शर्मालाई माग पत्र पेश गरेका हुन् ।
कोरोना महामारीको चपेटामा परेको सञ्चार क्षेत्र भूकम्पको थप मारमा परेकाले यसको सामना गर्न सरकारका तर्फबाट उचित कदम चाल्न माग गरिएको अध्यक्ष केसीले जानकारी दिए ।
उनका अनुसार मन्त्री शर्मासमक्ष भूकम्पबाट क्षति पुगेका सञ्चारमाध्यामको भवन निर्माण र उपकरण खरिदमा सहयोग तथा भूकम्प प्रभावित पत्रकारहरुलाई सहुलियत दरमा उपकरण खरिदको व्यवस्था गरिदिन माग गरिएको छ ।
त्यसैगरी भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यामहरुको नवीकरणमा लाग्ने शुल्क छुट गरिदिन र सूचना विभागद्वारा यस क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
महासंघ रुकुमपश्चिमले कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि तथा सञ्चारमाध्यामको सवलीकरणका लागि विशेष प्याकेजको माग गरेको छ भने प्रभावित क्षेत्रका सञ्चारमाध्यामलाई इन्टरनेट र विद्युत सेवा निस्शुल्क गरिदिने व्यवस्थाका लागि समेत माग गरेको छ ।
प्रभावित पत्रकारहरुका लागि मनोसामाजिक सेवा लक्षित कार्यक्रम, फेलोसिप लक्षित कार्यक्रम, पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमाको निरन्तरता, जिल्लाका विज्ञापनहरु स्थानीयस्तरका मिडियालाई नै दिनुपर्ने नीतिगत व्यवस्थाको माग पनि गरिएको छ ।
जिल्ला अध्यक्ष केसीले पत्रकारहरुको न्यूनतम पारिश्रमिक राज्यले कडाइका साथ लागू गर्नुपर्ने र अनलाइन मिडियाहरुको उचित व्यवस्थापन तथा लोककल्याणकारी विज्ञापनको लागि पहल गरिदिन माग पनि गरिएको बताए ।
जिल्लामा आठ वटा रेडियो, दुई वटा साप्ताहिक पत्रिका, एक वटा मासिक पत्रिका, चार वटा अनलाईन मिडिया सञ्चालनमा रहेको बताइएको छ । भूकम्पका कारण ३० जना पत्रकार प्रभावित भएको, एक वटा रेडियो भवन पूर्णरुपमा क्षति भएको अध्यक्ष केसीले जानकारी गराए ।
माग पत्र बुझ्दै मन्त्री शर्माले सबै मागहरु सकारात्मक रहेकाले पूरा गर्नका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यसैबीच पत्रकार महासंघलाई प्राप्त सामग्रीहरु पनि आइतबार नै वितरण गरिएको छ ।
पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष केसीले प्रभावित र प्रभावित क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरुलाई प्रथामिकता दिएर ती सामग्रीहरु हस्तान्तरण गरिएको बताए ।