२०८३ जेठ ५ , मंगलबार

अबरुद्ध सडक सुचारु गर !



निरन्तरको वर्षाका कारण देशैभरका सडक अवरुद्ध भएका छन् । सडकमा पहिरो खसेर, भासिएर, भत्किएर अवरुद्ध भएपछि स्थानीयहरू सास्ती भोग्न बाध्य भएका छन् । कर्णालीका पनि अधिकांश सडकमा गाडीहरू चल्न सक्ने अवस्था छैन । कतिपय ठाउँमा गाडी चलेपनि नागरिकलाई बिच बाटोमै अलपत्र पार्ने, ठाउँ ठाउँमा यात्रुहरूलाई गाडीबाट झार्ने लगायत समस्याले निकै सास्ती भएको छ । अझ ग्रामीण सडकमा हिउँदमा नागरिकलाई सुविधा भएपनि बर्खामा भने हिलोले सास्ती खेप्नुपरेको छ ।

सडकमा यातायातका साधनहरू छिटफुट रूपमा चलेपनि बिचबाटोमा सडक भासिने, हिलाम्मे हुने हुँदा यात्रुलाई झनै सास्ती छ । कर्णालीका सडकहरुमा गाडी चलेपनि ठाउँ ठाउँमा यात्रुहरूलाई झार्नुपर्छ। बर्खामा गाउँमा गाडी चलाउन निकै जोखिम छ। माथिबाट पहिरो आएर चाप्छ कि, तलबाट बगाउँछ भन्ने डर छ। ग्रामीण सडकको मर्मतसंभारमा सरकारले चासो नदिँदा यात्रु र गाडी चालकलाई पनि समस्या हुने गरेको छ।

कर्णालीका दशैं जिल्लाका ग्रामीण सडकमा त्यहाँका नागरिकहरूले समस्या खेप्नु परिरहेको छ। विशेष गरेर पश्चिम सुर्खेतको लगाम, बेतान र बिजौराका बासिन्दालाई बर्खायाममा निकै सास्ती खेप्नुपरेको छ। सुर्खेतकै चिङ्गाड गाउँपालिकाका सबै ठाउँमा सडक पुगेपनि अधिकांश ठाउँमा गाडी चल्न सक्ने अवस्था छैन । कहिलेकाहीँ गाडी गाउँमा आउँदैनन्, आएपनि गाडी फस्ने, यात्रुहरूलाई गाडीबाट झारेर धकेल्ने गरेका छन्। जाजरकोटको शिवालय गाउँपालिकाका सबै ठाउँमा सडक पुगेपनि बर्खायाममा सवारी साधन पुग्न सक्ने अवस्था छैन ।

पालिका जाने बाटोको अवस्था पनि नाजुक रहेको स्थानीयको भनाइ छ । गत शुक्रवार मात्रै शिवालयको डुंग्रा खोलामा सडक अवरुद्ध हुँदा दिनभर यातायात ठप्प भएका थिए । पालिकाले उक्त सडक स्तरोन्नतीको लागि लाखौँ रकम खर्च गरेपनि सडकको अवस्था भने नाजुकै रहेको छ । ग्रामीण सडक खण्ड ‘ग्राभेलिङ’ र कालोपत्रे नहुँदा सडक भत्किनुका साथै ठुला खाल्डा परेकाले थप जोखिम बढेको गाडी चालकहरू बताउँछन् । ठुलो–ठुलो पहिराले ठाउँ–ठाउँमा सडक पुरिएको छ। ठूलो मेसिन नलगाएसम्म सडक खुलाउन नसक्ने अवस्था छ ।

कच्ची सडकका रूपमा निर्माण भएका सडक स्तरोन्नति नहुँदा सडक खाल्डा परेको, ठाउँ ठाउँमा भत्किएको र जीर्ण बनेको यातायात व्यवसायीको गुनासो छ । वर्षौँदेखि सडक खण्डमा ठुला खाल्डा परेको र कतिपय स्थानमा भत्किएको भन्दै यसको पुनः निर्माण हुनुपर्ने उनीहरूको माग छ । ग्रामीण सडक जीर्ण बन्दै गएपछि अहिले पहाडी क्षेत्रमा सञ्चालन हुने अधिकांश यातायात साधन जोखिमपूर्ण सञ्चालन गर्न बाध्य छन् ।

जनताले विना रोकतोक एक ठाउँबाट अर्को ठाउँमा जान पाउने संवैधानिक व्यवस्था छ। तर, पहिरोले सडकलाई ध्वस्त पारेकाले जनताको मौलिक हक हनन भएको छ। बन्द सडकहरु खुलाउन तीनै तहका सरकारहरु पूर्णतया असफल छन। तीज जस्तो ठूलो चाडको मुखमा यसरी सवारी आवत जावत असहज हुँदा ग्रामीण जनजीवन प्रभावित छ। बिरामी अस्पताल पुर्‍याउन कठिन भएको छ।

ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषिजन्य तरकारी लगायतका बस्तुहरु सडेर खेर गैरहेको छ। यस्तो अवस्थामा तीनवटै तहका सरकारहरुले जनतालाई परेको सास्ती हटाउन युद्धस्तरमा काम गर्नुपर्छ। सडकको अवरोध हटाउन एक्साभेटर र जेसिभी रातदिन परिचालन गर्नु जरुरी छ। यो सम्पादकीय सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८१ भदौ ८ गते शनिबार