
सुर्खेत । नेपाल पत्रकार महासङ्घ सुर्खेतले काठमाडौँको तीनकुनेमा प्रेसमाथिको आक्रमणपछि सिर्जित घटनाक्रमका विषयमा सरोकारवालासँग छलफल गरेको छ । मङ्गलवार सुर्खेतस्थित प्रेससँग सम्बद्ध सङ्घ/सङ्गठनहरूसँग महासङ्घले भावी कार्यदिशाका बारेमा छलफल गरेको हो ।
छलफलमा नेपाल पत्रकार महासङ्घ सुर्खेतका निवर्तमान अध्यक्ष ललित बसेलले तीनकुने घटनामा पत्रकार र सञ्चार गृहमाथि भएको आक्रमणलाई सामान्य रूपमा लिन नहुने बताए । विगतदेखि नै प्रेस स्वतन्त्रतामा विभिन्न पक्षबाट आक्रमण हुँदै आएको उल्लेख गर्दै यसमा महासङ्घले डटेर सामना गर्नुपर्ने उनले बताए ।
प्रेस सेन्टर नेपाल सुर्खेतका अध्यक्ष टेकेन्द्र विश्वकर्माले विज्ञप्ति निकालेर मात्रै पत्रकारको सुरक्षा हुन नसक्ने बताए । सिङ्गो सञ्चार क्षेत्रमा चौतर्फी भइरहेको हमलाविरुद्ध पेसागत सङ्गठनहरूले प्रतिवाद गर्नुपर्ने उनले बताए । कतिपय अवस्थामा आचार संहिता पालना नगर्दा पत्रकारमाथि आक्रमण हुने गरेको उल्लेख गर्दै उनले पत्रकार पनि मर्यादा रहनु पर्ने बताए ।
जोखिमको संवदेनशिलतामा ध्यान पु¥याउन सके असङ्गठित समूहको हमलाबाट बच्न सकिने उनको धारणा थियो । यस्तै, प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष मुना हमालले तीनकुने घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिइन । आन्दोलनका नाममा हत्या जस्तो गम्भीर प्रकृतिको अपराधमा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने उनले बताइन ।
आचारसंहिता पालनासँगै कार्यस्थलमा पत्रकार सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनले बताइ । साथै, उनले पत्रकारको पेसागत सुरक्षा र क्षमता अभिवृद्धिमा महासङ्घले खुट्टा कमाउन नहुने बताइन । नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन बिसीले तीनकुने घटनाका विरुद्ध साङ्केतिक रूपमा सार्वजनिक कार्यक्रम बहिष्कार गर्नुपर्ने बताए ।
समाजवादी प्रेस सङ्गठन सुर्खेतका अध्यक्ष देव रानाले मृतकले न्याय नपाउँदासम्म सरकारलाई रचनात्मक दबाब दिने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । खास गरी भिडभाडमा रिपोर्टिङ गर्दा उच्च जोखिम हुने उल्लेख गर्दै उनले पत्रकार बिमा कार्यक्रम ल्याउँदा परिवार सुरक्षामा केही हदसम्म सहयोग पुग्ने बताए । यस्तै, सञ्चारीका समूह कर्णाली प्रदेशका सचिव रजनी योगीले प्रेसमाथि भएको अकल्पनीय घटनाको डटेर सामना गर्नुपर्ने बताइन ।
उनले समाचारकै कारण ज्यान गुमाएका दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई न्याय दिलाउन लड्नु परेको लामो लडाइँ तीनकुने घटनामा दोहोरिन नहुने बताइन । अनलाइन मिडिया नेटवर्क सुर्खेतका अध्यक्ष नवीन शाहीले सामाजिक सञ्जालले पत्रकार असुरक्षित बन्दै गएकाप्रति सचेत रहनुपर्ने बताए । कतिपय अवस्थामा पत्रकार आफै संवेदनशील नहुँदा अप्रिय घटना घट्ने गरेको उल्लेख गर्दै शाहीले रिपोर्टिङ गर्दा हुलमुलबाट जोगिनुपर्ने बताए ।
नेपाल आदिवासी पत्रकार महासङ्घका अध्यक्ष प्रवाशकुमार शाक्यले तीनकुने घटनाबाट पाठ सिक्दै सुरक्षित रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए । पत्रकार महासङ्घ सुर्खेतका उपाध्यक्ष सुशील खड्काले रिपोर्टिङ गर्दा पत्रकार संवेदनशील आवश्यक रहेको बताए । कार्यस्थलमा पत्रकारले सुरक्षा पहिलो प्राथमिकतामा राख्नु पर्ने उनको धारणा थियो ।
समाजलाई सुसूचित गर्ने र विचार निर्माण गर्ने स्वतन्त्र प्रेसमाथि हमला हुनु दुखदायी भएको उनको भनाई थियो । यस्तै, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले प्रेसमाथि द्वन्द्वका समयमा भन्दा पनि अहिले असुरक्षा बढेको बताए । पत्रकारले ज्यान जोगाएर मात्रै रिपोर्टिङ गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकारमाथि हुने सबै खाले घटनाविरुद्ध न्याय प्राप्तिको लडाइँमा महासङ्घपछि नहट्ने बताए ।
राजतन्त्र फर्काउने आन्दोलनका नाममा भएको अराजक प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई न्याय दिलाउन कुनै कसर बाँकी नराखिने महासङ्घ सुर्खेतका अध्यक्ष सुशील राज शर्माले बताए । रजकलाई न्याय र उनको परिवारलाई उचित क्षतिपूर्तिसहित स्वतन्त्र प्रेसमाथि भइरहेको हमला अन्त्य नभएसम्म महासङ्घले सङ्घर्ष जारी राख्ने शर्माको दाबी छ ।
उनका अनुसार महासङ्घ केन्द्रको सर्कुलर अनुसार एक सातासम्म दबाबमूलक कार्यक्रम आयोजना गरिने छ । महासङ्घले दिएको समयसम्म माग पुरा नभए सरकारविरुद्धको सङ्घर्ष सुरु हुने उनले बताए ।