२०८३ असोज २५ , आइतबार

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण पुष्टि



सुर्खेत १५, असोज

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
प्रदेश प्रमुखको निजी सचिवालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख कलौनीलाई कोभिड–१९ को संक्रमण देखिएको उल्लेख गरेको छ ।
प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को लक्षण देखिएर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङअनुरुप प्रदेश प्रमुख कलौनीको पिसिआर परीक्षण गर्दा संक्रमण देखिएको उल्लेख गरेका छन् ।
‘उहाँको अहिले स्वास्थ्य अवस्था सामान्य छ’, प्रमुख स्वकीय सचिव कलौनीले भने, ‘उहाँ चिकित्सकको प्रत्यक्ष निगरानीमा होम आइसोलेशनमा बस्नुभएको छ ।’
कलौनीका अनुसार एक साता पहिले कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँच जना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीन जनामा कोरोना संक्रमण देखिएको उनले प्रेस विज्ञप्ती मार्फत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहीबार