२०८३ असोज १५ , बिहीबार

सुर्खेत क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अन्योलमा



सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अन्योलमा परेको छ। प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्का क्षेत्र नम्बर १ बाट निर्वाचित भए पनि क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बन्न खोजेपछि कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा थप पेचिलो बनेको नेताहरूले बताएका छन्।

क्षेत्र नम्बर २ अन्तर्गत वीरेन्द्रनगर–७ बाट प्रतिनिधि छनोट भएका खड्कासहित पूर्वमन्त्री हृदयराम थानी, कांग्रेस सुर्खेतका जिल्ला सचिव टोपबहादुर रावत र प्रदेश महामन्त्री निरञ्जन केसी एक समूहमा रहेको कांग्रेस नेताहरूको भनाइ छ।

त्यस्तै केन्द्रीय सदस्यद्वय जानकी सिंह र तीर्थजंग शाही, पूर्वमन्त्री शिवराज जोशी, पूर्वजिल्ला सभापति कमलराज रेग्मी, पूर्वमेयरद्वय देवकुमार सुवेदी र उपेन्द्र थापा तथा प्रतिनिधिसभाका उम्मेदवार नारायण कोइरालासहितका नेताहरू अर्को समूहमा रहेको बताइएको छ।

दुई समूहबीचको मतभेदका कारण क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयन हुन सकेको छैन। प्रतिनिधि चयनका लागि पञ्चपुरी नगरपालिका–५, बाबियाचौर पुगेका नेता तथा कार्यकर्ता असोज ११ गतेदेखि अन्योलमा रहेको स्थानीय नेताहरूले बताएका छन्।

खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचन आयोगको नतिजाअनुसार २०८२ को प्रतिनिधिसभा निर्वाचनमा उनले सुर्खेत–१ बाट २६ हजार ८९७ मत प्राप्त गरी निर्वाचित भएका थिए।

कांग्रेसभित्र भने खड्काको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीलाई लिएर फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्। एक महाधिवेशन प्रतिनिधिका दावेदारले क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित व्यक्ति क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बन्न खोज्दा गुटगत प्रतिस्पर्धा बढेको दाबी गरे।

“निर्वाचन क्षेत्र नम्बर १ बाट सांसद हुने तर २ बाट महाधिवेशन प्रतिनिधि बन्न खोज्नुले गुटगत प्रतिस्पर्धा बढाएको देखिन्छ। उहाँ र हृदयराम थानीबीच कस्तो खालको तालमेल हो भन्ने कुरा पनि स्पष्ट छैन,” ती दावेदारले भने।

यता नेपाली कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत जिल्ला निर्वाचन अधिकृतको कार्यालयले क्षेत्रीय निर्वाचन कार्यक्रम स्थगित गरेको छ। निर्वाचन अधिकृत उत्तमप्रसाद आचार्यले प्रतिकूल मौसमलगायतका कारण क्षेत्रीय अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन्।

क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि चयनका लागि नयाँ मिति तय भइनसकेकाले प्रक्रिया थप अन्योलमा परेको छ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार