२०८३ वैशाख ४ , शुक्रबार

अध्यक्ष कोईराला र प्रअ श्रेष्ठले आर्थिक र सहायक प्रअ नियुक्तिमा अनियमितता गरेको गम्भीर आरोप लगाउदै शिक्षकहरु आन्दोलित



वीरेन्द्रनगरको मुटुमा रहेको जन माध्यमिक विद्यालयमा कार्यरत पुराना एवम् अनुभवी शिक्षकहरूले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले अपारदर्शी एवम् मनपरि तवरले विद्यालय संचालन गरेको प्रकिया प्रती असहमति जनाउँदै आन्दोलित भएको जनाएका छन्।

विद्यालयको कामकाज बन्द गर्दै धर्नामा बसेका ११ जना शिक्षकहरु मिनु भट्,ट गिता शाही, बालाराम अधिकारी, होमप्रसाद पौडेल, पूर्णबहादुर नेपाली, गोविन्द अधिकारी, कर्णबहादुर रावत, गोविन्द बहादुर केसी, पद्मप्रसाद गौली, मणिराम लामिछाने र नवराज भारतीले सोमबार एक विज्ञप्ती जारी गरेका छन् ।  विद्यालय व्यवस्थापन गर्न जिम्मेवारी पाएका वर्तमान विव्यसका अध्यक्ष गोबिन्द कोईराला र प्रधानाध्यापक यामबहादुर श्रेष्ठको स्वेच्छाचारी, अलोकतान्त्रिक प्रबृतिका कारण विद्यालयमा लामोसमयदेखि कार्यरत निष्ठाबान एवम् कर्तव्यपरायण शिक्षकहरु मर्माहत एवम् आन्दोलित भएको एक विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।

उनीहरूले गुटगत र पूर्वाग्रही ढंगले एकलौटीरुपमा विद्यालय संचालन गरिरहेको र लामोसमयदेखि कार्यरत शिक्षकहरुको मानमर्दन हुनेगरी थप गतिविधि अघि बढाएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनीहरूले सुर्खेत जिल्लाको शैक्षिक क्षेत्रलाई समुन्नत बनाउनका लागि वि।स। २००८ साल देखि नै उल्लेखनिय योगदान पुर्‍याएको जन नमुना मा।वि। मा समग्र सुर्खेती जनता, शिक्षाविद्हरु समाजसेवी एवम् तमाम अभिभावकहरुको ओजपूर्ण भूमिका रहेको कुरालाई आत्मसाथ गर्दै हालको विद्यालयलाई सञ्चालन गर्न एवम् व्यवस्थापन गर्न जिम्मेवारी पाएकाहरु अपारदर्शी ढंगले चलिरहेको आरोप लगाएका छन्।

उनीहरूले विद्यालयमा विद्यालय व्यवस्थापन समिति र प्रअबाट भैरहेका गम्भीर विषयहरुलाई उठान गर्दै मागहरुको सम्बोधन गर्न र मागहरुको सम्बोधन नभए त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितीको जिम्मेवारी सम्बन्धित विद्यालय व्यवस्थापन र विद्यालय प्रशासन जिम्मेवार हुने चेतावनी दिएका छन्।

उनीहरूले शिक्षकहरुका जायज र न्यायोचित मागहरुलाई सम्बोधन गर्न र ऐक्यवदता जनाउनका लागि सम्वन्धित पक्षहरुसंग अपिल गर्दै विद्यार्थीहरुको पठनपाठन सम्बन्धी सम्बेदनशील विषयमा समेत पर्न जाने असहजता प्रति क्षमा मागेका छन्।

उनीहरूले विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई पूर्णरुपमा वेवास्ता गर्दै मनपरी तवरले विद्यालयलाई सञ्चालन गरेको, मासिकरुपले बस्नु पर्ने स्टाफ बैठक नबसाली अप्रजातान्त्रिक तवरले विद्यालय सञ्चालन गरेको र शिक्षक प्रतिनिधिलाई नियोजित तवरले उपस्थित नगराई निर्णयहरु गर्दै कार्यान्वयन गरेकाले सम्पूर्ण निर्णयहरु अवैध भएकोले खारेजीको माग गरेका छन् ।

यसैगरी, विद्यालयमा काम गर्नकालागि शिक्षकहरु एवम् कर्मचारीहरुलाई नीजिस्रोतबाट परिपूर्ति गर्नुपर्नेमा विधि र प्रक्रिया कुल्चदै आफ्ना नाताभित्रका व्यक्तिहरुलाई नियुक्ति दिइ शिक्षाको सम्वेदनशीलता माथि खेलबाड गरेकोले खेद प्रकट गरेका छन्। र, त्यसको न्यायोचित छानबिन गरि शिक्षक कर्मचारी भर्ना प्रक्रियालाई पारदर्शी बनाउन माग गरेका छन्।

विज्ञप्तिमा विद्यालयले अपारदर्शी तवरले कायम गरेको लेखा प्रणालीले आर्थिक भ्रष्टाचारको गन्ध दिएकोले सो को न्यायोचित छानबिन गरी लेखा प्रणालीलाई पारदर्शी बनाउन माग गरिएको छ।

विगतमा वि।व्य।स। गठन गर्दा कागजी प्रक्रिया पुरा गरि अवैध तरिकाले गठन गरेको प्रति असहमती रहेको र विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियालाई पारदर्शी एवम् सहभागितामुलक बनाउन उनीहरूले माग गरेका छन्।
असन्तुष्ट शिक्षकहरुले विद्यालयमा कार्यरत शिक्षकहरुसंग छलफल नै नगरी बरिष्ठ शिक्षकहरुको मानमर्दन हुनेगरि कनिष्ठ शिक्षकहरु मध्यबाट ३ जनालाई सहायक प्रध्यानाध्यापकको जिम्मेवारी दिएकोप्रति गम्भीर आपत्ति प्रकट गर्दै सो निर्णयको खारेजीको माग गरेका छन्।

सामाजिक लेखा परिक्षण गर्दा शिक्षकहरु तथा अभिभावकहरुको पर्याप्त सहभागिता बिना अपारदर्शी तवरले गर्ने र सो परिक्षणको सार्वजनिक नगरेकोले भ्रष्टचार गरेको हुनसक्ने उनीहरूले शंका व्यक्त गरेका छन्। उनीहरूले यस विषयमा छानबिन गरी पारदर्शी बनाउन जोडदार माग गरेका छन्।

नमुना विद्यालयको कार्यक्रम र बजेटको सन्दर्भमा शिक्षक र स्टाफलाई कुनैपनि सूचना तथा समन्वय नगरी काम गरेकोमा हाम्रो गम्भीर आपत्ति प्रकट गरेका छन्।

विज्ञप्तिमा विद्यालयमा दरबन्दी कायम भएका शिक्षक नबराज भारतीलाई विगत ९ वर्षदेखि हाजिर नगराई विद्यालयलाइ आर्थिक नोक्सानी पुर्‍याएकोले निजलाई अविलम्ब हाजिर गराई थप आर्थिक क्षति हुनबाट बचाउन माग गरेका छन्।
उनीहरूले विद्यालयले सञ्चालन गरेको ११ र १२ का कक्षाहरु दिवा सत्रमै सञ्चालन गर्न सकिने पर्याप्त पूर्वाधार हुँदाहुँदै अतिरिक्त सुविधाका लोभमा विहानी सत्रमा सञ्चालन गरि विद्यालयलाई थप आर्थिक भार पारेकाले उक्त आर्थिक भारबाट बचाउन अबिलम्ब पहल गर्न माग गरेका छन्।

विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न ठोस कार्यक्रम तर्जुमा नगरी प्रचारबाजी तवरले विद्यालय सञ्चालन गरेको हुँदा विशुद्ध शैक्षिक गुणस्तर कायम गर्न अबिलम्ब उपयुक्त वातावरण मिलाउन माग गरेका छन्।

असन्तुष्ट शिक्षकहरुले व्यक्तिगत उन्नतिका लागि नभई समग्र विद्यालयको हितका लागि मागहरु राखेकाले विद्यालयसंग सरोकार राख्ने शिक्षकहरु, अभिभावकहरु, चन्दादाताहरु, शुभचिन्तकहरु, पत्रकारहरु एवम् शैक्षिक क्षेत्रमा सरोकार राख्ने नगर शिक्षा, नगरपालिका, जिल्ला शिक्षा समन्वय इकाई लगायत सम्पूर्ण सरोकारवालाहरुलाई मागहरुको उपयुक्त सम्बोधन गरी विद्यालयलाई अत्यन्त प्रजातान्त्रिक एवम् व्यवस्थित तरिकाले सञ्चालन गर्ने वातावरण मिलाईदिन अपिल गरेका छन्।

विद्यालयमा भैरहेको अपारदर्शी काम कार्वाहीलाई लिएर सिनियर शिक्षकहरुले गरिरहेको आन्दोलनप्रती विद्यालय प्रशासनले गैरजिम्मेवार अभिव्यक्ति दिएको छ। सिद्धदर्शन दैनिकलाई विद्यालयमा भैरहेको आन्दोलन प्रती प्रतिकृया दिदै जन माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले प्रअलाई सजिलो हुनेगरी सहायक प्रधानाध्यापक नियुक्ती गरिएको वताएका छन्।

श्रेष्ठले सहायक प्रधानाध्यापक नियुक्ति गर्ने विद्यालयसंग कुनैपनि कार्यविधि नभएको र ऐेन नियमसमेत नभएको गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्। उनले कुन र कति गते बसेको बैठकले सहायक प्रअ नियुक्त गरेको हो भन्ने प्रश्न उत्तर नदिएपनि पुस ११ गते सहायक प्रअहरु नियुक्त गरिएको दाबी गरे।

प्रअ श्रेष्ठले विद्यालयका सहायक प्रअहरु प्रअको हेल्पिङ् हेण्डस भएको वताए। उनले शिक्षकहरुले उठाएका जायज मागहरु भए संवोधन गर्न आफु तैयार भएको जनाए। जन माविले विद्यालयमा कार्यरत जुनियर शिक्षकहरु शशिधर खनाल, दीपक सापकोटा र लोकप्रसाद ढकाललाई सहायक प्रधानाध्यापक नियुक्त गरेको जनाएको छ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ६ को मुख्य बजारमा रहेको जनमाध्यामिक विद्यादय तत्कालीन मध्यपश्चिम विश्वविद्यालयकै उत्कृष्ट विद्यालय मानिन्थ्यो। आर्थिकरुपले समेत देशभरमै निकै सम्पन्न मानिने यो विद्यालय सुर्खेत जिल्ला कै पुरानो सामुदायिक विद्यालय हो।

गोबिन्द कोईराला अध्यक्ष बन्नुअघि प्रजातान्त्रिक हिसाबले विद्यालय व्यवस्थापन समिति गठन हुदै आएकोमा उक्त विद्यालयमा कोईराला अध्यक्ष बनेर आएपछि समिति छनौटका सबै मूल्य मान्यता भत्काईएको आन्दोलनमा उत्रेका एक शिक्षकले गुनासो व्यक्त गरे।

विद्यालयमा आर्थिक अपारदर्शीता भएको, नातागोता र आफ्नै श्रीमतीसमेतलाई विधि मिचेर जागिर खुवाएको,विद्यालयको कम्पाउण्डमा रहेका पसल कम्वलवाट बढी भाडा असुल गरि कम देखाई भ्रष्टाचार गरेको र विद्यार्थीहरुबाट भर्ना र मासिक शुल्कका नाममा ठूलो रकम उठाई अध्यक्ष र प्रअले व्यक्तिगतरुपमा खर्च गर्ने गरेको आरोप लाग्दै आएको छ। विद्यार्थीहरुलाई रसिद नदिई भर्ना शुल्क असुल गरेको भन्दै अख्तियारको कार्यालय सुर्खेतले रंगेहात पक्राउ गरेको मुद्दामा छानबिन भैहेको छ।

प्रकाशित मिति : २०७९ पुस ११ गते सोमबार