
नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार राति सम्पन्न बोर्ड बैठकले फागुन १४ र १५ गते संघको बार्षिक साधारण सभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्ने निर्णय गरेको छ । क्यानको राष्ट्रिय सम्मेलन सुर्खेतमा आयोजना हुन लागेको पहिलोपटक हो । क्यानको साधारणसभा सुर्खेतमा आयोजना गर्न क्यानका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक पदमबहादुर खड्काको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
खड्काले राष्ट्रियस्तरको साधारणसभा सुर्खेतमा गरिनु समग्र कर्णाली प्रदेशका लागि खुसीको विषय भएको प्रतिकृया दिए । खड्काले देशभरका ४५ जिल्ला संघ र ७ प्रदेश गरि २ सय भन्दा बढि प्रतिनिधि सुर्खेतमा भेला हुने जानकारी दिए । यसका साथै संघको बैठकले अन्य १३ वटा निर्णयसमेत गरेको छ । सात जना केन्द्रीय सदस्यको बहिष्कारको बावजुद बसेको बैठकले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि विशेष साधारणसभासम्मको निर्णय गरेको छ ।
बैठकले आगामी जेठसम्ममा क्यानको निर्वाचन गराउने निर्णय गरेको छ । कार्यकाल सकिनु ४ महिना बाँकी रहेपनि केन्द्रीय समितिको निर्वाचन गराउने क्यानले निर्णय गरेको हो । अहिलेको कार्यसमितिको कार्यकाल आगामी असोजसम्म रहेको छ । बैठकले नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सनकुमार झालाई चयन गरेको छ । सन् २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको लागि १८ जना पुरुष खेलाडी र १२ जना महिला खेलाडीहरुलाई केन्द्रीय करारमा राख्ने निर्णय बोर्ड वैठकले गरेको छ ।
करार गरिएका पुरुष खेलाडीहरुमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्शन कुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव रहेका छन् । महिला खेलाडीतर्फ रुविना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, विन्दु रावल, संगिता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम रहेका छन् ।
बैठकले बागलुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने, यसको अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा पेस गर्ने, गभर्निङ काउन्सिल विघटन गर्ने, सेभेन थ्री स्पोर्टस प्रालिसँगको सम्झौता खारेज गर्न आगामी साधारणसभाबाट निर्णय गर्ने, स्पट फिक्सिङ कार्यमा संलग्न खेलाडी र व्यक्तिहरुको आरोप पुष्टि पश्चात् आइसिसी र क्यानको कोड अफ कन्डक्ट बमोजिम कारबाही अगाडि बढाउने निर्णय पनि गरिएको छ । संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जिम्मेवारी छोडेको विषय अनुमोदन गर्ने, उक्त पदमा दुर्गाराज पाठकलाई जिम्मा दिने, संघको विशेष साधारणसभा आगामी २०८० जेठ मसान्तभित्र गर्ने निर्णय गरिएको छ ।