काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनमा हुने प्रतिनिधसभा चुनाव नलड्ने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा थापाले तोकिएको मितिमा पार्टीको अधिवेशन नभए चुनाव नै नलड्ने चेतावनी दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उनले नेतृत्व परिवर्तन नगरी निर्वाचनमा होमिने भए आफू चुनाव नलड्ने घोषणा गरेका हुन् । थापाको अभिव्यक्तिलाई उधृत गर्दै एक पदाधिकारीले दिएको जानकारीअनुसार महामन्त्री थापाको प्रस्तुति हिजोभन्दा आज फरक देखिएको थियो । थापाले बोल्ने क्रममा महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको भन्दै विषयलाई अघि बढाएको ती पदाधिकारीले बताए ।
बुधबार मात्र २–४ वटा जिल्लाको अधिवेशन रोकिए पनि केन्द्रीय महाधिवेशन गरिछाड्ने अभिव्यक्ति दिँदै तीन तहको अधिवेशन गर्न सकिने विकल्प प्रस्तुत गरेका गगनले बिहीबार भने फरक ढंगबाट प्रस्तुत भएको ती नेताले बताए । ती नेताले भने, ‘आज त उहाँले निर्वाचनपूर्व अधिवेशन गर्ने र नेतृत्व परिवर्तन गरेर चुनाव नगए म निर्वाचन लड्दिनँ भन्नुभयो ।’