२०८२ माघ ७ , बुधबार

राउटे युवाहरूलाई प्राथमिक उपचार तालिम सुरू




सुर्खेत ।
लोपोन्मुख फिरन्ते जाति राउटे समुदायका युवाहरूलाई प्राथमिक उपचारका आधारभूत सीप सिकाउन थालिएको छ। राउटे समुदायको जीविकोपार्जन सुधारमा काम गर्दै आएको सोसेक नेपालको आयोजनामा राउटे समुदायको स्वास्थ्य सुधारका लागि तीनदिने प्राथमिक उपचार तालिम सुरु गरिएको हो।

मंगलबार लेकवेशी नगरपालिका–७ पुलटारमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले तालिमको उद्घाटन गरेका हुन्। हाल राउटे समुदाय लेकवेशी नगरपालिका–७ को जंगल क्षेत्रमा बसोवास गर्दै आएका छन्। तालिममा राउटे समुदायका आठ महिला र सात पुरुष गरी १५ जनाको सहभागिता रहेको छ।

सहभागीहरूलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीहरूले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने छन्। तालिमपछि उनीहरूले आफ्नै समुदायमा चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या देखिँदा अस्पताल लैजानुअघि प्राथमिक उपचार गर्न सक्ने अपेक्षा गरिएको छ।

तालिम उद्घाटन समारोहमा मन्त्री भण्डारीले राउटे समुदाय कर्णालीको पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण सबैको साझा दायित्व भएको बताए। ‘कुनै समय पैसा छोए पाप लाग्छ भन्ने विश्वास राख्ने राउटे समुदायका युवाहरूले आधुनिक स्वास्थ्य उपचारप्रति देखाएको चासोले सकारात्मक परिवर्तनको संकेत गरेको छ,’ उनले भने। राउटे समुदाय केवल एउटा जाति नभई सभ्यता, भाषा र संस्कृतिको जीवन्त संगम भएको पनि उनले उल्लेख गरे।


मन्त्री भण्डारीले राउटेहरूको सभ्यतामा ठेस नपुग्ने गरी सामाजिकरणको पाटोमा ल्याउन सरकार प्रयासरत रहेको बताए। पछिल्लो १० वर्षको बसाइँसराइ तथ्यांकका आधारमा ‘राउटे कोरिडोर’ निर्माण र ‘राउटे नीति’ अन्तिम चरणमा पुगेको जानकारी दिँदै, नीति कार्यान्वयनसँगै उनीहरूको रहनसहन र रीतिरिवाजलाई सम्मान गर्दै क्रमशः आधुनिकीकरणतर्फ कार्यक्रम केन्द्रित गरिने बताए।

यस्तै, दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले राउटे समुदायलाई परिचयपत्र वितरण गरी सामाजिक सुरक्षा भत्ता दिँदै आएको बताए। राउटे समुदायका नागरिकलाई नागरिकता प्रदान गर्न पालिकाले पहल थालेको र प्रस्ताव जिल्ला प्रशासन कार्यालय दैलेखमा पुगिसकेको जानकारी पनि उनले दिए।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिं थापाले पछिल्लो समय राउटे युवाहरू आधुनिक चिकित्सा उपचारप्रति विश्वास गर्न थालेकाले प्राथमिक उपचार तालिम सञ्चालन गरिएको बताए। परम्परागत घरेलु उपचारका कारण जटिल स्वास्थ्य समस्या देखिन थालेपछि नयाँ पुस्तालाई आधुनिक उपचार पद्धतिबारे जानकारी दिन तालिम आयोजना गरिएको उनको भनाइ छ।

कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जंगल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको हाल जनसंख्या १३३ रहेको छ। पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण राउटे समुदायको जनसंख्या तीव्र रूपमा घट्दै गएको छ।

प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार