सुर्खेत। बर्दियामा खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखाका प्रमुख नविन शाहीको कमाण्डमा सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा बुधबार बर्दियाको गुलरिया नगरपालिका–११, लालपुर नजिकबाट २६६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य अन्तर्गत बहराईच जिल्लाको जमील लौकाही निवासी ३३ वर्षीय फिरोज खान रहेका छन्। विशेष सुराकीबाट प्राप्त सूचनाका आधारमा खटिएको लागू औषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखाको टोलीले खानलाई नियन्त्रणमा लिन खोज्दा उनी भाग्न प्रयास गरेका थिए। भाग्ने क्रममा खानलाई रोक्न प्रहरीले २ राउण्ड गोली प्रहार गरेको थियो।
तीमध्ये १ राउण्ड गोली खानको दाहिने खुट्टामा लागेको र अर्को राउण्ड उनलाई नलागेको प्रहरीले जनाएको छ। घाइते अवस्थामा नियन्त्रणमा लिइएका खानको कानुनबमोजिम खानतलासी गर्दा उनले लगाएको पाइन्टको दाहिने खल्तीभित्र लुकाएर राखिएको लागू औषध खैरो हेरोइन फेला परेको थियो। बरामद लागू औषधलाई मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिकसहित २८३ ग्राम र प्लाष्टिक हटाएर शुद्ध तौल २६६ ग्राम ५६० मिलिग्राम रहेको पुष्टि भएको छ।
यसका साथै खानको साथबाट ३ थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। घाइते अभियुक्तलाई आवश्यक उपचारपछि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखाले जानकारी दिएको छ।