२०८३ वैशाख २५ , शुक्रबार

आशिकाले टिकट पाएपछि रास्वपाका कार्यकर्ता विभक्त, एकथरीले विरोध गर्दा अर्कोथरीको समर्थन



काठमाडौँ। सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ-१ को उम्मेदवार बनाएपछि असन्तुष्टि बढेको छ। रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार कार्यालयमा बोलाएर तामाङलाई टिकट दिएका हुन्। तर, उनले टिकट पाएपछि रास्वपाका कार्यकर्ताबीच नै मतभेद सुरु भएकाे छ।

रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीमै पुगेका कार्यकर्ताले उनका नाममा विवाद गरेका हुन्। एकथरी कार्यकर्ताले आशिकालाई उम्मेदवार बनाएकोमा विरोध गरेका छन् भने अर्कोथरीले समर्थन जनाएका छन्। विरोधमा उत्रिएका एक कार्यकर्ताले भने- ‘यसरी टाउको फुटाएका छौँ। त्यसरी बनाएको संगठन हो। तपाईंलाई बोकेर हिँड्न हामी सक्दैनौँ।’

उनले आफूले उस्तै परे राजीनामा दिने समेत चेतावनी दिए। ‘म धार्के गाउँपालिकाबाट राजीनामा दिनुपर्ने हो भने दिन तयार छु,’ उनले भने। अर्को एक जनाले थपे-‘यहाँ सब होटेलवालाले भोट होल्ने हो। याद गर्नुभएको छ तपाईले? तपाईंको कुरा बझ्दैनन्।’ तर, अर्को पक्ष भने आशिकाको समर्थनमा उत्रियो। आफूलाई जेनजी बताउने एक जनाले भने- ‘राजीनामा दिनुहोस्। हामी जेनजी घाइतेले बोक्छौँ। जनताले भोट दिने हो, तपाईंहरुले दिनुपर्दैन।’

आफूले टिकट पाउँदा कार्यकर्ताबीचमै विरोध भएपछि आशिकाले उनीहरुलाई सम्झाउने कोसिस गरिन्। निराश देखिएकी उनले भनिन्-‘नरिसाउनु न तपाईंहरू।’ उनले यसअघि काठमाडौँको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार