२०८३ साउन २७ , बुधबार

८४ दिनमा मोटरसाइकलबाटै नेपालका ७७ जिल्ला घुमिन् २२ वर्षीया शीतल गिरी



काठमाडौं । २२ वर्षीया शीतल गिरीले एक्लै मोटरसाइकल यात्रामार्फत नेपालका ७७ वटै जिल्ला भ्रमण पूरा गरेकी छन्। उनले ८४ दिनको अवधिमा देशका विभिन्न भूभाग हुँदै आफ्नो साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेकी हुन्।

शीतलले यात्राका क्रममा हिमाली, पहाडी तथा तराई क्षेत्रका विभिन्न जिल्लामा पुग्दै चुनौतीपूर्ण सडक, मौसम र लामो दूरीको सामना गरेकी थिइन्। एकल मोटरसाइकल यात्रालाई निरन्तरता दिँदै उनले निर्धारित अभियान पूरा गरेकी हुन्।

७७ वटै जिल्ला पुगेर यात्रा सम्पन्न गरेपछि शीतल आफ्नो गृहक्षेत्र सीतापाइला फर्किएकी छन्। घर फर्किएपछि परिवार, इष्टमित्र तथा साथीभाइले उनलाई बाजागाजासहित भव्य स्वागत गरेका थिए।

शीतलको साहस, आत्मविश्वास र दृढ इच्छाशक्तिको प्रशंसा गर्दै शुभेच्छुकहरूले उनलाई बधाई तथा आगामी यात्राका लागि शुभकामना दिएका छन्।

उनको यो उपलब्धिले युवापुस्तालाई नेपालका विभिन्न भूभाग नजिकबाट बुझ्न, देश भ्रमण गर्न तथा साहसिक गतिविधिमा सहभागी हुन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। साथै, शीतलको एकल यात्रा नेपाली युवतीहरूको साहस, आत्मनिर्भरता र दृढ संकल्पको प्रेरणादायी उदाहरण बनेको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार