सुर्खेत, २७ साउन । सुर्खेतको भेरीगंगा नगरपालिका–१३, रामघाटमा श्रीमानले आफ्नै श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाउँदा श्रीमती गम्भीर घाइते भएकी छन्। घटनामा संलग्न रहेको आरोपमा श्रीमान् प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार स्थानीय ४९ वर्षीय जयबहादुर रानाले ५० वर्षीया श्रीमती महेश्वरी रानामाथि साउन २६ गते साँझ करिब ५ बजे पेट्रोल छर्किएर आगो लगाएको आरोप छ।
आगो लागेपछि उनीहरूकी १८ वर्षीया छोरी पुष्पा रानाले आगो निभाएकी थिइन्। आगलागीबाट महेश्वरीको अनुहार, घाँटीसहित शरीरका विभिन्न भाग गरी करिब ३५ देखि ३६ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ।
घाइते महेश्वरीलाई छोरी पुष्पाले साँझ करिब ६ः१५ बजे उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पुर्याएकी थिइन्। अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई साँझ करिब ६ः४० बजे नेपालगन्ज रिफर गरिएको थियो।
त्यसपछि थप उपचारका लागि महेश्वरीलाई भारतको लखनउ लगिएको जनाइएको छ। घटनामा संलग्न रहेको आरोपमा जयबहादुर राना प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० कविन्द्रसिंह बोहराले जानकारी दिए।