२०८३ असोज ५ , सोमबार

मान्मा धाउनुपर्ने बाध्यता हट्यो, पहिलोपटक महावैमै पुग्यो मलेपको टोली



जगदिश शाही
कालीकोट । महालेखा परीक्षकको कार्यालय  मलेपको टोली पहिलोपटक कालीकोटको महावै गाउँपालिका केन्द्र पादमघाटमै पुगेर अन्तिम लेखापरीक्षण सुरु गरेको छ । यसअघि लेखापरीक्षणका लागि आवश्यक स्रेस्ता तथा कागजात सदरमुकाम मान्मा लैजानुपर्ने बाध्यता थियो ।

आर्थिक वर्ष २०८२र०८३ को अन्तिम लेखापरीक्षणका लागि पालिका केन्द्र पुगेको टोलीले गाउँपालिकाका आर्थिक कारोबार, लेखा प्रणाली, योजना तथा कार्यक्रम, बजेट खर्च, आय–व्यय र वित्तीय व्यवस्थापनसँग सम्बन्धित कागजात तथा विवरणको अध्ययन र परीक्षण गर्नेछ ।

महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले पहिलोपटक महालेखा परीक्षणको टोलीलाई अन्तिम लेखा परीक्षणका लागि गाउँपालिका केन्द्र पादमघाटमा बोलाएर अन्तिम लेखा परीक्षण सुरु गरेको बताए।

उनले आवश्यक कागजात बोक्ने झण्झटतर्फ लाग्नुभन्दा गाउँपालिकामै टोली बोलाएर लेखा परीक्षण सुरु गरेको बताए। पहिलो पटक पालिका स्तरमै परिचयात्मक बैठक गरी टोलीले आवश्यक कागजातहरू जुटाउन र बेरुजु आउन नदिने वा आएका बेरुजुहरूलाई तत्कालै फर्स्योट गर्नेतर्फ लागेको उनको भनाइ छ।

गाउँपालिका केन्द्रमै मलेपको टोली पुगेपछि आवश्यक कागजात व्यवस्थापन र सम्बन्धित कर्मचारीसँग प्रत्यक्ष छलफल गर्न सहज भएको छ । यसले आर्थिक अनुशासन, पारदर्शिता तथा वित्तीय व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महावै गाउँपालिकाले यसअघि लगातार पाँच वर्षसम्म लेखापरीक्षणका लागि स्रेस्ता तथा आवश्यक कागजात सदरमुकाम मान्मा लैजाने गरेको थियो । यस वर्ष भने पहिलोपटक मलेपको टोली पालिका केन्द्रमै पुगेको हो ।

कालीकोटकै पलाँता गाउँपालिकामा पनि यस वर्ष पहिलोपटक पालिका केन्द्रमै पुगेर महालेखा परीक्षकको टोलीले अन्तिम लेखापरीक्षण गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८२र०८३ को अन्तिम लेखापरीक्षणका लागि भदौ महिनादेखि विभिन्न स्थानीय तहमा टोली परिचालन गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार