२०८३ असोज १४ , बुधबार

वीरेन्द्रनगरमा अटोको मनपरी भाडाविरुद्ध ट्राफिकको छड्के जाँच, १४ वटा नियन्त्रणमा



जगदिश शाही
सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालन हुँदै आएका अटोले यात्रुसँग मनपरी भाडा असुल्ने गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले छड्के अनुगमन गरेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले सोमबार साँझ वीरेन्द्रनगरमा अटोको छड्के जाँच गरेको हो।

अनुगमनका क्रममा १४ वटा अटो बढी भाडा मागेको पाइएपछि नियन्त्रणमा लिइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार स्थानीयबाट अटो चालकले मनपरी भाडा असुल्ने गरेको गुनासो आएपछि त्यसको वास्तविकता बुझ्न छड्के अनुगमन गरिएको हो।

प्रदेश र जिल्ला ट्राफिक प्रहरीको दुई टोली बनाएर अनुगमन गरिएको रिजालले बताए। उनका अनुसार प्रहरी टोली यात्रु बनेर अटोमा चढी भाडा परीक्षण गरेको थियो।

‘यात्रु बनेर हामीले अनुगमन गरेका हौँ । अनुगमनको क्रममा १४ अटोले बढी भाडा भने । उनीहरूलाई नियन्त्रणमा लियौँ,’ एसपी रिजालले भने।

नियन्त्रणमा लिइएका अटो चालकलाई मंगलबार सम्झाइबुझाइ गरेर छोडिएको प्रहरीले जनाएको छ। पहिलो पटक भएकाले सचेत गराएर छोडिएको र आगामी दिनमा पुनः बढी भाडा लिएको पाइएमा आवश्यक कारबाही गरिने रिजालले बताए।

‘पहिलो पटक सचेत गराएर छोडेका छौँ । फेरि पनि बढी भाडा लिएको जानकारी आएमा आवश्यक कारबाही गर्नेछौँ,’ उनले भने, ‘हाम्रो अनुगमनको कार्य नियमित रूपमा सञ्चालन हुनेछ।’

यसअघि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले महिला अटो चालकलाई सम्मान तथा सेफ्टी ज्याकेट वितरण गरेको थियो। महिला अटो चालकको सुरक्षा, स्वास्थ्य सचेतना तथा पेशागत सशक्तीकरणलाई लक्षित गर्दै उक्त कार्यक्रम गरिएको थियो।

सेफ्टी ज्याकेट वितरण कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र कर्णाली महिला स्वास्थ्य क्लिनिकको समन्वय तथा सहयोग रहेको थियो।

त्यस्तै, केही समयअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले पनि अटो चालकलाई सेफ्टी ज्याकेट वितरण गरेको थियो। अटो चालकलाई सडक सुरक्षाप्रति थप जिम्मेवार बनाउन ट्राफिक सचेतना कार्यक्रमसँगै सेफ्टी ज्याकेट वितरण गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा ट्रस्ट एजुकेशनल सेन्टर वीरेन्द्रनगरको सहयोगमा भएको कार्यक्रममा वीरेन्द्रनगरमा अटो सञ्चालन गर्दै आएका करिब १३० जना चालक सहभागी भएका थिए।

कार्यक्रममा चालकलाई सेफ्टी ज्याकेट वितरण गर्नुका साथै सडक सुरक्षा, ट्राफिक नियमको पालना र दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिइएको थियो।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधबार