जगदिश शाही
सुर्खेत । स्वस्थ मुटुका लागि नियमित व्यायामको महत्व, पर्यटन प्रवर्द्धन, साइकल यात्राको प्रोत्साहन तथा पर्यावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले सुर्खेतमा साइकल यात्रा आयोजना गरिएको छ।
विश्व मुटु दिवस २०२६ को अवसरमा ह्याप्पी सोल सुर्खेतको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र कर्णाली राइडर्सको सहकार्यमा घण्टाघरदेखि काँक्रेविहारसम्म साइकल यात्रा सम्पन्न भएको हो।
साइकल यात्रामार्फत स्वस्थ जीवनशैलीका लागि नियमित व्यायाम गर्न प्रेरित गर्नुका साथै साइकल यात्रालाई प्रोत्साहन गर्ने र सुर्खेतका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
यात्राका क्रममा ट्राफिक नियमको पालना गर्दै सुरक्षित रूपमा साइकल चलाउनुपर्ने सन्देशसमेत प्रवाह गरिएको थियो। साथै विभिन्न निकायबीचको समन्वय तथा सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यलाई पनि कार्यक्रमले समेटेको थियो।
साइकल यात्रा काँक्रेविहार क्षेत्रमा पुगेपछि वनभोज क्षेत्रमा सरसफाइसमेत गरिएको थियो। सहभागीहरूले काँक्रेविहार क्षेत्रको सरसफाइ गर्दै वातावरण संरक्षणको सन्देश दिएका थिए।
आयोजकका अनुसार कार्यक्रमले स्वास्थ्य, पर्यटन प्रवर्द्धन, साइकल यात्राको प्रोत्साहन, सडक सुरक्षा र वातावरण संरक्षणलाई एउटै अभियानमार्फत जोड्ने प्रयास गरेको हो।