जगदिश शाही
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेत र सिम्ता गाउँपालिकाको संयुक्त टोलीले गाउँपालिकाका प्रमुख व्यापारिक केन्द्रमा आकस्मिक बजार अनुगमन गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको नेतृत्वमा तथा सिम्ता गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्यतामा मंगलबार बिहान ९ बजेदेखि जामुने बजार, गोजी बजार र सिर्जना बजारमा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा विभिन्न पसलमा बिक्रीका लागि राखिएका म्याद गुज्रिएका खाद्य तथा उपभोग्य वस्तु फेला परेका थिए। खाद्य वस्तु, पेय पदार्थ, बीउबिजन, मिठाई, जुस र खानेतेललगायत १५ हजार रुपैयाँभन्दा बढी मूल्यका अखाद्य सामग्री बरामद गरिएको प्रशासनले जनाएको छ।
बरामद गरिएका सबै सामग्री टोली तथा स्थानीयको रोहवरमा मुचुल्का तयार गरी सिम्ता गाउँपालिका परिसरको खाली जग्गामा खाल्डो खनेर नष्ट गरिएको छ।
बजार अनुगमनमा गाउँपालिकाका स्वास्थ्य, कृषि, पशु स्वास्थ्य तथा उद्योग शाखाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय बागेपिपलका प्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो।
यसअघि गरिएको बजार अनुगमनका क्रममा ७० हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका सामान बरामद गरी नष्ट गरिएको थियो। यसपटक भने उक्त परिमाण घटेर १५ हजार रुपैयाँभन्दा केही बढीमा सीमित भएको प्रशासनले जनाएको छ।
अनुगमन टोलीको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले अघिल्लो अनुगमनको तुलनामा म्याद गुज्रिएका सामान कम भेटिनुले बजारमा सुधारको संकेत देखिएको बताए।
‘अघिल्लो अनुगमनको तुलनामा म्याद गुज्रिएका सामान निकै कम भेटिनुले उपभोक्ता र व्यापारी दुवै सचेत भएको प्रस्ट पार्छ। आम उपभोक्तामा सामान किन्नुअघि मूल्य ९एमआरपी० र म्याद ९एक्सपायरी डेट० हेर्ने बानी बसेको छ भने व्यापारीहरूले पनि म्याद नाघेका सामान खरिद(बिक्री गर्न छाडेका छन्,’ कार्कीले भने।
प्रशासनले बजारलाई उपभोक्तामैत्री र व्यवस्थित बनाउन आगामी दिनमा पनि आकस्मिक तथा नियमित बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।