
दैलेख पुस २६ गते
नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका नेता केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सह संयोजक यामलाल कँडेलले प्रचण्ड र माधव नेपालको व्यक्तिगत स्वार्थ र पद लोलुपताका कारण नेकपा सँगै लोकतन्त्र र सघीयता धरापमा परेको बताएका छन् ।
’प्रचण्डको दिमागमा जति वेला संख्याको जोड घटाऊको कुरा आयो, त्यस दिनदेखि नेकपामा सङ्कट उत्पन्न भएको छ । नेकपाको यो अवस्था ल्याउने मुख्य दोषी प्रचण्ड र नेपाल हुन् ,’ हजारौं कार्यकर्ताहरु माँझ उनले भनिरहदा नेकपाका कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्मा दैलेखमै जिल्ला कमिटी सदस्यहरुको वैठकमा सहभागी भैरहेका थिए ।
दैलेख जिल्ला कमिटीको आयोजनामा आईतवार भएको कार्यक्रममा तत्कालीन समयमा पार्टी एकता गर्दा संख्याको हिसाब बहुमत र अल्पमतको हिसाब नगरेरै सहमतिकै आधारमा काम गर्ने समझदारी भएको नेता कडेलले वताए । उनले मुलुक परिवर्तन गर्न र जनताको हिजोको अवस्था बदल्नका लागि प्रधानमन्त्री के.पी.शर्मा ओलीले एउटै कम्युनिष्ट पार्टी बनाएर अघि बढ्ने सोच बनाएको उनको भनाइ थियो ।
कडेलले तत्कालीन समयमा बहुमत र अल्पमतको कुरा राखिएको भए प्रचण्डले पार्टी एकता गर्ने थिएनन् भन्दै बहुमत र अल्पमतको खेल समझदारी बाहिरको विषय भएको वताए ।
आफ्नो जीवनकालमा जोडिएका सबै नेतालाई विभिन्न बहानामा कारबाही गर्ने लामो अनुभव भएका प्रचण्डले संख्याको खेल सुरु गरेर नेकपालाई सङ्कटमा पार्ने काम गरेको उनले वताए ।
महाधिवेशन सम्म कुर्न नसक्ने, अहिले नै कुर्ची र पार्टी अध्यक्ष हात पार्ने दाऊ गर्ने, कुचेष्टा गर्ने, सरकारलाई काम गर्न नदिने, विदेशीको चलखेलमा चोर बाटोबाट प्रधानमन्त्री हटाउन खोज्ने यस्ता धेरै खेल भएपछि जनताकै पक्षमा जाने गरी प्रधानमन्त्रीले निर्णय गरेको नेता(बा“की ३ पेजमा) कडेलले दावी गरे ।
’चुच्चे नक्सा निस्कँदा छिमेकी रिसाएको छ । प्रधानमन्त्री ओलीले भारतले चाहेर पनि नाकाबन्दी गर्न नसक्ने गरी पारवहन सम्झौता गर्नु राष्ट्रियता विपक्षमा हो ? जनताले उहाँहरूसँग प्रश्न गर्नुपर्ने बेला आएको छ,’ कँडेलले बताए ।
जनार्दन शर्मा प्रती लक्ष्यित गर्दै उनले इन्चार्ज एउटा हलमा कार्यकर्ता खोज्दै अगुवा बैठकमा भएको वताए । ’हामी खुल्ला सभामा हजारौँ कार्यकर्ताका माझमा अगुवा भेला गरिरहेका छौँ । जिल्ला एउटै छ , स्थान फरक छ । जनताको उपस्थिति हेरे हुन्छ, कसको पक्षमा जनमत बढी छ भनेर । हामीले लिएको चिन्ह सूर्य हो, सूर्य जनताका माझमा सधैँ चम्किरहने छ,’ नेता कडेलले यसो भनिरहदा भीडवाट तालीले स्वागत गरेका थिए ।
प्रचण्डले माधवलाई ६ महिनामा कारवाही गर्नुहुन्छ : सांसद रेग्मी
नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सांसद धर्मराज रेग्मीले नेकपाको एकिरण गर्दा ६० र ४० प्रतिशत भागबन्डा गरिएको वताए । ’एकीकरण पछि पूर्व समूह भत्किनुपर्छ भनेर हामीले भनेका थियौँ तर सम्भव भएन । अहिले पार्टीमा समस्या आयो यो समस्या के.पी. ओलीका कारणले हैन पार्टीका केही शीर्ष नेताहरू ९ जना मध्येका केहीलाई पदको लोभले हो,’ रेग्मीले भने ।
जनता कोरोना महामारीमा परेको वेला पार्टीले राष्ट्रियताको बारेमा के गर्ने, आर्थिक समृद्धिका लागि के गर्ने यस्ता विषयहरू नेकपा बैठकमा कहिल्यै नउठेको प्रती गुनासो थियो ।
एकता अधिवेशन कुर्न नसक्ने ठालुहरू मिलेर हजारौँ कार्यकर्ताहरूको भावना विपरीतका कामहरू सुरु गरेको उनको आरोप छ । ’सोभियत सङ्घमा पनि यस्ता घटनाहरू भएका हुन्, केही समय नेताहरूका कारण पार्टी समस्यामा पर्याे, सत्ता ढल्यो तर कम्युनिष्ट पार्टीका इमानदार कार्यकर्ताहरूले पुनः ७० वर्षपछि जितेका छन् ,’ उनले भने । अझै पनि केही नबिग्रेको भन्दै प्रचण्ड र माधव नेपाल सूर्य चिन्हमै चुनावमा जाने रेग्मीको दावी छ ।
सत्तरी वर्षको संसदीय अभ्यासमा नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओली मात्रै संसदमै भारतका विषयमा खरो रूपमा उत्रने व्यक्ति भएको दाबी गरे । उनले नेकपाको सचिवालयले खरीदारलाई हटाउन मिल्दैन भने प्रधानमन्त्रीलाई कसरी हटाउन मिल्छ भनी प्रश्न गरे ।
केन्द्रीय सदस्य एवं प्रदेश सभाका सदस्य मिनासिंह रखालले प्रचण्ड माधव समूहका केही उग्र र अराजक नेताहरूले समेत महिलाहरूको आत्मसम्मानमा चोट पुग्ने गरी दिएका अभिव्यक्तिको भर्त्सना गर्दै आगामी दिनहरूमा यस्ता अभिव्यक्तिहरू आए महिलाहरू सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएकी थिईन् ।
रखालले नेकपालाई सङ्कटमा पार्ने काम प्रचण्ड माधव नेपाल समूहले गरेको वताउदै आफुहरु राष्ट्र र राष्ट्रियता पक्षमा वताईन्। उनले आम जनताहरू चुनावको पक्षमा होमिसकेकोले चुनावसँग नडराउन प्रचण्ड माधव पक्षलाई आग्रह गरिन् ।
नेकपाका केन्द्रीय सदस्य एवं दैलेखका पार्टी अध्यक्ष रबिन्द्रराज शर्माले पार्टी अध्यक्ष हुँदा हुँदै सचिवको नेतृत्वमा गरिएका सबै निर्णयहरू खारेज गर्दै पार्टीको ठुलो पङ्ति अहिले पनि ओली अध्यक्ष रहेको पार्टीमा रहेको र पार्टीले प्रचण्डलाई समेत अध्यक्षबाट नहटाएको जानकारी दिँदै एक वर्ष सम्म गाउँमा शपथ खुवाउन नदिने दैलेखका केही नेताहरू अहिले उनैलाई काखी च्यापेर हिँड्नु हास्यास्पद भएको बताए ।
नेकपा केन्द्रीय सदस्य एवं दैलेखका इन्चार्ज लक्ष्मी पोखरेलले प्रचण्ड माधव पक्षका शीर्ष नेताहरूलाई दैलेखको दुल्लुमा आएर चुनावमा भाग लिन आग्रह गरेका छन् । पोखरेलले भने,’ तपाईहरु यहाँ आएर चुनावमा भाग लिनुहोस्, प्रधानमन्त्री के.पी शर्मा ओलीको पक्षमा कति जनमत छ, त्यसपछि थाहा हुन्छ ।’
कार्यक्रममा नेकपा नेता धीरवहादुर शाही, अनेरास्ववियु सचिवालय सदस्य नवीन योगी, नव प्रवेशी नेता बखत नेपाली, महावुका नेता सुशील शाही, नेकपाका नेता तर्कबहादुर बडुवाल लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रीय सूर्यकुमारी श्रेष्ठले शुभकामना मन्तव्य राखेकी छन् ।