
सुर्खेत २६ पौष
सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन विद्यार्थी घाइते भएका छन् । मौका परीक्षा दिन पाउनु पर्ने व्यवस्थाको माग गर्दै आन्दोलनरत विध्यार्थी र प्रहरी वीच भएको झडपमा केही विध्यार्थीहरु घाइते भएका हुन ।
आईतवार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीको छलफलका क्रममा विवाद उत्पन्न हुँदा घटना भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो ।
झडपमा मप विश्वविद्यालय स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, अनेरास्ववियुका नेता निकुञ्ज पाण्डे, विद्यार्थी तर्कराज शाही र लक्ष्मण वोगटी घाइते भएको जनाइएको छ ।
उपकुलपतिसँग विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन वल प्रयोग गरिएको थियो । घाइतेहरूको स्थानीय नर्सिङ होममा उपचार भैरहेको छ ।
विश्वविद्यालयमा भएको घटना प्रती अनेरास्ववियु सुर्खेतले विरोध जनाएको छ । अनेरास्ववियु सुर्खेतका अध्यक्ष धुपेन्द्र शाहीले विध्यार्थीका सामान्य मागहरु सम्वोधन नगरी वल प्रयोग गरिनु निन्दनीय कार्य भएको प्रतिकृया दिएका छन् । उनले विश्वविद्यालयले विध्यार्थीहरुलाई गरेको दमनले स्थितिलाई मुठभेडतर्फ लगेको वताए ।
यसैबीच मध्यपश्चिम विध्यालय उपकुलपतिको कार्यालयअ सुर्खेतले आईतवार एक विज्ञप्ति जारी गर्दै पौष २६ गते बेलुका करिब ७ बजे तिर सुर्खेत स्थित विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यू माथि उद्दण्ड तत्वहरुले भौतिक आक्रमणको दुष्प्रयास तथा उपकुलपति कार्यालयमा ढुंगा\मुढा गर्दा सुरक्षार्थ खटिएका प्रहरीले सामान्य बल प्रयोग गरेको उल्लेख गरेको छ ।
उपकुलपति कार्यालयले जारी गरिएको विज्ञप्तिमा अघि भनिएको छ, ‘प्रहरीले सुरक्षा गरेको र विभिन्न संचार–माध्यममा आएजस्तो गोली प्रहार नभएको जानकारी गराइन्छ । साथै उक्त कूप्रचार प्रति उपकुलपतिको कार्यालय घोर भत्सना गर्दछ ।’