
पौष २७, सुर्खेत
नेपालमा कोरोना संक्रमण सुरु भएसंगै सुनसान भएको मध्यपश्चिमाञ्चल विश्व विद्यालयको राजनीति फेरि सतहमा देखिएको छ । आईतवार एक्कासि विश्वविध्यालय परिसरमा भएको तोडफोड र कुटाकुटवाट विश्वविध्यालयले पुनः अशान्तिको वाटो समाउने छनक दिएको छ ।
उक्त घटनावारे सोमवार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा वोल्दै उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले आफु खुसी परीक्षाको माग गर्ने विद्यार्थी र उनीहरुलाई भड्काउने प्राध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
विश्वविद्यालयमा उत्पन्न पछिल्लो घटनाक्रमबारे जानकारी दिन आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उपकुलपति सिंहले विद्यार्थीका मागहरु पूरा गर्न नसकिने प्रकृतिको भएकोले उनीहरुले यहि गतिविधि कायम राखे निस्कासन गर्नेसम्मको चेतावनी दिएका छन् ।
केही क्याम्पस प्रमुख र प्राध्यापकहरुको उक्सावटमा विद्यार्थीहरुले उदण्डता प्रदर्शन गरेको उपकुलपति सिंहको भनाइ छ । ’विश्वविद्यालयकै क्याम्पस चिफ र प्राध्यापकहरुले विद्यार्थीलाई उचालेर आन्दोलन गर्न लगाएका छन्,’ उनले भने, ’विद्यार्थीहरुको माग पूरा हुनै सक्दैनन, गतिविधि नरोके उदण्ड विद्यार्थीलाई निस्कासन गर्छौं ।’
मप विश्वविद्यालयमा सम्बन्धनविनै हाइड्रो इन्जिनियरिङ पढाइ भइरहेको छ । त्यसै विषयलाई लिएर विद्यार्थीले आन्दोलन गरिरहेका छन् । यस सम्बन्धमा उपकुलपति सिंहले हाइड्रो इन्जिनियरिङ विश्वविद्यालयका लागि अभिशाप भएको बताएका छन् । ‘जहिले पनि यिनै विद्यार्थीहरुले उदण्ड मच्चाउँछन्, उनले भने, ‘विश्वविद्यालयको सम्पति तोड्फोड गर्ने अधिकार कसैलाई छैन्, कसैले गर्छ भने त्यस्लाई सार्वजनिक मुद्दा चलाउँछौं ।
उपकुलपति सिंहले विद्यार्थी उचाल्नेहरुलाई समेत मुगु र रुकुममा सरुवा गरिदिने र क्याम्पस प्रमुखलाई कारबाही गर्ने धम्की दिए । हाइड्रो इन्जिनियरिङको सम्बन्धन, कोरोना अवधिको शुल्क मिनाह र मौका परीक्षा दिन पाउनुपर्ने लगायतका माग राखी आइतबार उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन गएका बखत विद्यार्थीहरुमाथि धरपकड भएको थियो ।