
सुर्खेत १२ बैशाख
सुर्खेतको वीरेन्द्रनगरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि स्थानीय प्रशासन कानमा तेल हालेर वसेको छ। संक्रमण दर कहालिलाग्दो हिसाबले वढेको र कोरोनाको ‘हटस्पट’ वनेको नेपालगंजवाट सुर्खेत आउनेको संख्या रोकिएको छैन।
छिमेकी जिल्ला वाँकेको नेपालगंजमा पुरै समुदाय नै कोरोनाको चपेटमा परि अस्पतालमा वेड पाउने अवस्थासमेत नभएको समाचार आईरहदा पनि यसको नियन्त्रणको जिम्मेवारी सम्हालेको जिल्ला प्रशासन कार्यालय सुर्खेत औपचारिक वैठकमा मात्रै सीमित भएको छ।
यसअघिका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सरकारको कोपभाजनमा परि प्रजिअवाट आर्थिक मामिला मन्त्रालयको सचिव हुँदै नेपालगंज उप महानगर पालिकामा फालिएका छन्।
साविकको कर्णाली अंचलमा खाद्यान्न आपूर्तिमा रहेको सिण्डिकेट र अनियमित आपूर्ति संजाल ध्वस्त पारी जनताको वाहवाही वटुलेका रेग्मीलाई यहि अभियोगमा समय पूरा नहुँहै गृह मन्त्रालयवाट प्रदेश हुदै स्थानीय तहमा लखेटिएको छ।
यतिमात्र होईन मालपोत कार्यालय सुर्खेतमा हुने गरेको भीड र जनताले पाईरहेको सास्तीवाट रेग्मीले छुटकारा दिएका थिए। उनले केही महिनाको प्रयासमा मालपोत कार्यालयलाई अनलाइन सिस्टममा लगेर जनताले पाउने हैरानीवाट मुक्त गराएका थिए।
वन तालिम केन्द्रले तत्कालीन नापी कार्यालय वसेको भवन ओगटेर वसेको र मालपोतलाई भवन नपुगिरहेकोमा उनै रेग्मीले अधिक वल प्रयोग गरि तालिम केन्द्रलाई अन्यत्र पठाई मालपोत कार्यालयलाई भौतिक पूर्वाधारले सम्पन्न वनाएका थिए। छोटो समयमा भवनको पूनर्निर्माण र वजेट व्यवस्था गरि पर्खाल लगाएका थिए।

उनै रेग्मीले अघिल्लो वर्षको कोरोनाकालमा स्थानीय प्रशासनको व्यवस्थित परिचालन गरेका थिए। लकडाउनलाई प्रभावकारी वनाउन उनले सवै पक्षलाई समेटेर ‘क्वीक रियाक्सन टिम’ गठन गरेका थिए। सवैपक्षको सहभागीतामा जिल्ला भित्रको शान्ति सुरक्षा कायम गर्नेदेखि लकडाउनको अवधिमा समेत विकास निर्माणको सहजीकरण गर्ने नेतृत्व जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको थियो।
रेग्मीको सरुवा भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेत सीमित व्यक्तिको घेरामा परेको अनुमान आम सर्वसाधारणले महसुस गर्न थालेका छन्। हालका प्रजिअ छविलाल रिजालको कार्यशैली फरक रहेको र सरोकारवालाहरुकै पहिचान समेत गर्न नसकेको नाम उल्लेख नगर्ने शर्तमा सुर्खेत जिल्लाका एक नेता वताउँछन।
उनी भन्छन्, ‘कोरोनाको यत्रो महामारी आईसक्दा समेत नियन्त्रणको प्रभावकारी उपाय वारे प्रजिअ वेखवर छन। दलहरूको सहयोग उनलाई आवश्यक परेजस्तो छैन।’
रेग्मीको कार्यकालमा प्रहरी प्रशासनलाई राम्रोसँग परिचालन गरिएको थियो। ‘जहाँ प्रजिअ पुग्थे, त्यहाँ प्रहरी प्रमुख पनि साथमै हुन्थे,’ जागरण एफएमका अध्यक्ष पूर्णप्रसाद पौडेल भन्छन्, ‘प्रजिअ रेग्मी स्थानीय भएर पनि होला जिल्लाको शान्ति सुरक्षामा विशेष ध्यान दिएका थिए।’