
सुर्खेत १४ बैशाख
कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कर्णाली प्रदेश ईन्चार्ज यामलाल कँडेलले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ‘भगौडा’को कमाण्डर भएको बताएका छन् ।
सोमवार भएको कर्णाली प्रदेशसभाको बैठकमा उनले एमालेबाट फ्लोर क्रस गरेर मन्त्री बनेका तीन जनालाई ‘भगौडा’को संज्ञा दिँदै उनीहरू माथि सिधा निसाना साधेका हुन् ।
संसदीय दलको ह्वीप उल्लंघन गरी भाग्ने ‘भगौडा’को बाहुल्य रहेको सरकार बनेको भन्दै मुख्यमन्त्री शाही भगौडाका कमाण्डर बनेको उनको भनाइ थियो । भगौडाहरुले चलाएको सत्तावाट जनता कसरी आश्वस्त हुनसक्छन भन्दै उनीहरूमा जनता समक्ष उभिने नैतिक शाहस नभएको उनको भनाइ थियो ।
मुख्यमन्त्री शाही माथि विभिन्न लाक्षणिक प्रहार गर्दै उनमा शासकीय अनुभव, क्षमता र दुरदर्शिता कुनैपनि नभएको उनको आरोप थियो । सरकार माओवादी केन्द्रका नेता प्रभाकरले चलाईरहेको संकेत गर्दै नेता कडेलले मुख्यमन्त्री महेन्द्र शाहीको नायवी प्रभाकरले चलाएको उनको संकेत थियो ।
यो सरकारको पालामा भ्रष्टाचार वढ्ने भन्दै अख्तियार लगायतका संस्था मन्त्रीको पछिपछि लागे अन्यत्र भ्रष्टाचारी खोज्न जानू नपर्ने उनको ठम्याइ थियो ।
शान्ति प्रकिया पछि मुख्यमन्त्री शाही दशरथपुर क्याम्पको कमान्डर हुँदा ठूलो भ्रष्टाचार गरेकोतर्फ संकेत गर्दै उनकै निर्देशनमा सयौं सालका रुखहरु काटिएकोसमेत कँडेलले आरोप लगाए ।
गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापालाई माओवादीका मतियार भएको र उनीहरू संसदीय परिपाटीलाई नै ध्वस्त पार्न उद्धत रहेको कडेलको ठम्याइ थियो । फ्लोर क्रस पछि ज्वाला वाहेक शाही, बुढा र थापा मन्त्री बनिसकेका छन् ।
नेता कँडेलले संसदीय दलको ह्विप उल्लंघन गर्नु राजनीतिक अपराध भएको र त्यस्तो गर्नेलाई ‘भगौडा’ भनिने बताए। उनले भगौडाहरुको शासनसत्तावाट जनताले कुनै अपेक्षा नगर्ने वताए ।