हुम्ला । सिमकोट गाउँपालिकाको पशु शाखामा औषधिको अभाव भएको छ । औषधि नहुँदा किसानहरु खालि हात फर्किनुपर्ने बाध्यता रहेको छ । गाउँबाट गाई, गोरु भेडा, बाख्रालाई सामान्य बिरामारको औषधि माग्दा शाखामा नभएपछि किसानहरु खाली हात घर फर्किनु परेको हो ।
बाख्रालाई सामान्य पखालाको अौषधि नभएपछि त्यसै फर्कीएको स्थानीय किसान रम्बा शाहीले बताइन् । उनले पालेका बाख्रामा चिसोका कारण निमोनियाको लक्षण देखिएको छ । पशु शाखामा औषधि लिन जाँदा कर्मचारीले कुनै पनि औषधि नभएको बताएका उनले बताइन् ।
औषधिको अभाव हुँदा गाउँ घरमा चिसोका कारण गाई, गोरु भेडा, बाख्रा लगायतका पशुलाई रोग लागेपछि औषधि नहुँदा पशुहरु त्यसै मर्ने अवस्थामा पुगेको किसानको गुनासो छ । करिब तीन महिनादेखि शाखामा औषधि अभाव भएपनि औषधिका लागि कुनै पहल हुन नसकेको शाखाका एक कर्मचारीले बताए ।
उनका अनुसार चिसोका कारण सामान्य रोग पशुमा पखला, निमोनिया, लुतो, ज्वरो जस्ता समस्या देखिन थालेका छन् । किसानहरु औषधि दिन दैनिकजसो आउने गरेपनि खाली हात फर्काउनु परेको उक्त कर्मचारीले बताए ।
अर्का एक कर्मचारीले भने, ‘औषधि शाखाको गोदाम खालि छ । औषधि लिन गाउँ घरबाट दैनिक किसान आउने गरेको भएपनि तीन महिनाबाट औषधि नहुँदा शाखा कुरेर बस्नुपर्ने अवस्था छ । किसानहरुलाई खाली हात फर्काउनु बाहेक अरु विकल्प छैन ।’ शाखा प्रमुख महेन्द्र बहादुर शाही बिरामी भएर जिल्ला बाहिर गएको हुँदा अौषधि ल्याउनमा ढिला भएको ना.प्र.स बिष्णु बुमिले बताए ।
उनले आफूपनि केही कामको लागि बाहिर गएको र अब दुई चार दिनमा जिल्ला बाहिर नेपालगन्जबाट औष्धि ढुवानी गरेर शाखामा ल्याउने बताए । पशु शाखामा वर्षको करिब तीन पटक औषधिको चरम अभाव हुन्छ, औषधि नहुँदा लाखौंको क्षति हुने हँुदा किसान मारमा पर्ने गरेको किसानको गुनासो छ ।
जिल्लाका किसानलाई पशुपालनमा विभिन्न निकायले जोड दिएपनि पशु रोगको औषधि नहुँदा लगानी डुब्ने सम्भावना देखिएको छ । औषधि चरम अभाव हुँदा सिमकोट वडा १ देखि ८ सम्मका किसानले पालेका गाई, गोरु, भेडा, बाख्रालाई रोग लागेमा घरायसी जडिबुटीले उपचार गर्दै आएका छन् ।