नवराजको पक्षमा पैरवी गरेका अधिकारकर्मी खगेन्द्र सुनारविरुद्ध उजुरी

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २७ मंसिर २०८०, बुधबार ११:१८

सुर्खेत । दलित अधिकारकर्मी तथा पत्रकार खगेन्द्र सुनारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । कानुन व्यवसायीको मानप्रतिष्ठा र चरित्रमा आँच आउने गरी अभद्र व्यवहार गरेको भन्दै नेपाल बार एसोसियसन रुकुम जिल्ला अदालत बार इकाइले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिएको हो ।

अन्तर्जातीय विवाह गर्न खोज्दा रुकुम पश्चिमस्थित सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या मुद्दामा पीडित परिवारको समर्थन गर्दै पैरवी गर्ने पत्रकारसमेत रहेका अधिकारकर्मी सुनारले एक हप्ताअगाडि सामाजिक सञ्जाल फेसबुकमा अधिवक्ता रचना मल्ललाई लक्षित गर्दै एउटा स्टाट्स लेखेका थिए, ‘हत्यारा मल्लको वकिल रचना मल्ल भन्छिन्, नवराजलाई बलात्कार मुद्दा पनि लगाउनुपर्छ ।’

उक्त स्टाट्समा अधिवक्ता मल्ललाई तथानाम गालीगलौज तथा धम्कीपूर्ण प्रतिक्रिया आएका छन् । ‘पीडित आमाहरू अदालतमा भइरहेको बहसमा हुनुहुन्थ्यो। अधिवक्ता मल्लले त्यस्तो बताइसकेपछि मैले जस्ताको त्यस्तै सामाजिक सञ्जालमा लेखेको हुँ,’

उनले भने, ‘अधिवक्ताको जिम्मेवारी वकालत तथा बहस गर्ने होला भने मेरो पनि जिम्मेवारी भएगरेका विषय बाहिर ल्याउनु हो। म अधिकारकर्मी मात्र होइन, पत्रकार पनि हुँ। मैले मेरो धर्म निर्वाह गरेको हुँ ।’ अधिवक्ता मल्ले बलात्कार मुद्दासमेत लगाउने बहस गरिरहँदा पीडित पक्षका आमाहरू रुँदै बाहिर आएको उनले बताए ।

दलित आन्दोलन दबाउनका लागि बोल्नेहरूका स्वर नै बन्द गर्न खोजिएको भन्दै उनले भने, ‘नवराज विकको हत्या मुद्दा अदालतबाट हारेपछि त्यसको रिस फेर्न खोजिएको हो। मैले गलत गरेको छैन् । यस्ता दुष्प्रयासबाट डराउँदिनँ।’ सामाजिक सञ्जालमा अधिवक्ता मल्लले भनेको कुरा मात्र लेखेको र कुनै मानमर्दन हुने गरी प्रस्तुत नभएको उनी बताउँछन्।

उक्त स्टेटसमा आएका प्रतिक्रिया आफ्नो धारणा नभएको उनको भनाइ छ। यता अधिवक्ता मल्लले बहस गरेको कुरालाई बंग्याएर सिंगो कानुन व्यवसायीको मानमर्दन गर्ने ढंगले प्रस्तुत भएपछि प्रहरीसमक्ष पुगेको बताइन्।

‘युवाहरूको समूह एउटी युवतीको घरमा गएर बिहे नै गर्छन् भन्ने ग्यारेन्टी थिएन। उनीहरूले निर्मला पन्तलाई जस्तो अपराध गर्न पनि त सक्थे । त्यस्तो अवस्थामा नवराजलाई बलात्कार मुद्दा लगाउन सकिन्थ्यो भनेको थिएँ,’ उनले भनिन्, ‘मैले यसरी विषयान्तर गरेको थिएँ। तर बाहिर बंग्याएर ल्याइयो । जसले मेरो र कालोकोटे (अधिवक्ता) हरूप्रति नै मानमर्दन हुने गरी तथ्यलाई बंग्याइयो ।’

बहसका क्रममा बिहे गर्छन् भन्ने एकिन नभएकाले जातीय होइन, लैंगिक हिंसाका विषयमा पनि न्यायाधीशको ध्यानाकर्षण गराएको उनी बताँउछिन्। सामाजिक सञ्जालमा अधिवक्ता मल्लविरुद्ध विभिन्न खाले प्रतिक्रिया आएका छन्। ‘जिउँदो मान्छेलाई मरेको भन्दै श्रद्धाञ्जलीसमेत लेखिएको छ,’

उनले भनिन्, ‘मलाई कुटपिट तथा ज्यान मार्नेखालका प्रतिक्रिया पनि आएका छन्। मेरो सुरक्षा कसले गर्छ।’ नेपाल बार एसोसियसन रुकुम जिल्ला अदालत बार इकाइका तर्फबाट निवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय, रुकुमपश्चिमका प्रहरी निरीक्षक तथा प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जनाए । निवेदनमा विपक्षी बनाइएका व्यक्तिलाई छलफलका लागि बोलाएको उनको भनाइ छ । नागरीक दैनिकबाट साभार

Next Post

डोल्पामा हिमपात, कृषक खुसी !

२७ मंसिर २०८०, बुधबार ११:१८
पुर्ण कुमार, डोल्पा । हिमाली जिल्ला डोल्पामा हिमपात भएको छ । डोल्पाको लगभग सबै ठाउँमा मंगलबार राती हिउँ परेको हो । मङ्सिरमै डोल्पामा हिमपातभएपछि जनजीवन निकै कष्टकर बनेको छ । माथिल्लो डोल्पासहित तल्लो डोल्पाको जुफाल, नर्कु, त्रिपुराकोट , पहाडा, लीकु , सर्मि, लगायत जगदुल्लाका अधिकांश स्थानमा हिमपात भएको छ । […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930