
सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई अध्यक्ष पद त्यति ठुलो नभएको बताएका छन् । शुक्रवार प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका उनले आफु ७० वर्ष कट्दै गएको बताउँदै आफुलाई अध्यक्ष पद त्यति ठुलो नभएको दाबी गरेका हुन् । ‘म ७० वर्ष पुग्दै छु,’सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, मलाई अध्यक्ष पद त्यति ठुला पनि लाग्दैन्’ उनले भने, ‘प्रचण्ड अध्यक्षभन्दा माथि भइसक्यो । एउटा राम्रो टिम बनेपछि म अर्का भूमिकामा जाने सोचिरहेको छु ।’
उनले नेकपा माओवादी केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याईएको बताए । ‘पार्टी फुटको विषय एकथरी मान्छेले भ्रम डिजाइन गर्दै आएका थिए । त्यसको गलत भएको पुष्टि भइसकेको छ ।’ अध्यक्ष प्रचण्डले भने । पार्टी भित्र कुनै आन्तरिक विवाद नरहेको र भएका साना मसिना विवाद पनि समाधान भएको उनको जिकिर छ । भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको र सो तथ्यपुष्टि हुँदै गएको दाबी गर्दै उनले गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी दिए ।
उनले भने, ‘मुलुकको राजनीति जटिल परिस्थितिमा छ । यस बेला हामीले पार्टी मजबुत बनाउने गरी अभियान चलाइरहेका छौँ । सरकार गठन गर्न ठूलठूला पाटी मिल्ने दुनियाँमा हुँदैन् । संसदीय परम्परा मान्नेहरूका लागि त यो अपवाद हो । यो सरकारले सयदिनभित्र थुप्रै गलत काम गर्ने सम्भावना भएकाले मैले कडारुपमा प्रतिवाद गर्नुपरेको हो । बेतिथि र भ्रष्टाचारलाई बचाउने कोसिस गरियो भने सदन र सडकमा हामी सशक्तरुपमा प्रस्तुत हुन्छौँ ।’
उनले एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने भन्दै उनले संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको बताए । माओवादीले सरकारबाट बाहिर रहेका बेला पनि देशको जटिल परिस्थिति सुधार्न सकारात्मक भूमिका खेलिरहेको उनले बताए।