
सुर्खेत । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङकाे प्रथम स्मृति दिवस आज सम्पन्न भएकाे छ। नेकपा एमाले जिल्ला कमिटी सुर्खेतकाे आयाेजनामा भएको स्मृति सभामा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेता नेम्वाङकाे निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताए।
कँडेलले पार्टी निर्माणमा सबैकाे भूमिका रहेको भन्दै मान्छे मरेपछि मात्रै उसले गरेका कामकाे चर्चा हुने गरेको बताए। उनलेे पार्टी र समग्र नेपाली राजनीति भित्र सुवास नेम्वाङकाे कद उच्च रहेको उल्लेख गरे। उनले संकट परेकोवेला मात्रै सम्झने बानी हटाउनुपर्नेमा जाेड दिए।
नेकपा एमाले भित्र बढि सम्झने व्यक्तिका रुपमा स्वर्गीय नेम्वाङ रहेको मुख्यमन्त्री कँडेलकाे भनाइ थियाे। हरेक पार्टी सदस्यले नेम्वाङलाई सम्झने र साे बमोजिम अनुसरण गरे मात्रै पनि पार्टी बलियो हुने उनकाे भनाइ छ।
एमाले जिल्ला कमिटी सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाकाे अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु नवराज रावत, दक्षिणा शाही,मिनासिं रखाल, कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह र सचिव धुर्वकुमार शाही लगायतकाे उपस्थिति रहेको थियाे।