
सुर्खेत । आगामी जेठमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि सर्ने भएको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा मन्त्री चौधरीले प्रतियोगिता जेठमा हुन नसक्ने संकेत गरेसँगै जेठमा प्रतियोगिता लगभग नहुने निश्चित भएको हो । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष समेत रहेका मन्त्री चौधरीको अध्यक्षतामा बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो ।
याे हेर्नुहाेस् – फेरि सर्यो दसौं राष्ट्रिय खेलकुद, जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय
जेठमा मिति तोकिएसँगै प्रतियोगिता तोकिएकै मितिमा नहुनेमा धेरैको मत थियो । त्यति मात्रै होइन मुख्यमन्त्री कँडेलसमेत जेठमा प्रतियोगिता हुनेमा ढुक्क थिएनन् । जबकि गत फागुनमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको बैठकमा बोल्दै मुख्यमन्त्री यामलाल कँडेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका थिए ।
याे पनि हेर्नुहाेस् – दसौँ राष्ट्रिय खेलकुदको मिति नसार्न परिषद्लाई मुख्यमन्त्री कँडेलको आग्रह
मुख्यमन्त्री कँडेलले पटक पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्यौलता बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न आग्रह गरेका थिए । पटक पटक मिति सरेपछि बैठकमा मुख्यमन्त्री कँडेलले जेठभन्दा पर जान नसकिने धारणा राखेका थिए । ‘अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन ।,’ उनले भनेका थिए, ‘तर त्यो भन्दा पर जान सक्ने स्थिति छैन । विश्वासिलो बन्ने परिस्थिति म देख्छु ।,’
त्यति मात्रै होइन मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रङ्गशाला लगायतका कामहरूलाई पहिलेदेखि नै तीव्र गतिमा अगाडी बढाइरहेको बताउँदै मुख्यमन्त्री कँडेलले प्रतियोगिता सफल पार्न प्रदेश सरकारले आफ्नो जिम्मेवारी पुरा गर्ने बताएका थिए ।
उनले प्रतियोगिताको मुख्य आयोजक सङ्घीय सरकार भए र सह–आयोजक प्रदेश सरकार भएकाले आफुहरुले तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्री चौधरीले न त कँडेलको आग्रहलाई स्वीकार गरे न त खेलाडीको मर्म बुुझे । उल्टै उनले आफैले जेठ भन्दा पर प्रतियोगिता जाँदैन भनेर सार्वजनिक कार्यक्रममा बोलेको बोलीसमेत बिर्सिए ।
दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने निर्णय गरिएको थियो । त्यतिबेला गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रतियोगिता गर्ने निर्णय भएको थियो । तर सरकारले पुर्वाधार निर्माण नभएको भन्दै तोकिएको मितिबाट चैतमा पु¥याए ।
राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय ग¥यो । उक्त समयमा पनि सरकारको बेवास्ताले प्रतियोगिता सारेर जेठमा पु¥याइयो । जेठमा पनि प्रतियोगिता नहुने मन्त्री चौधरीले संकेत गरेको एक बोर्ड सदस्यले जानकारी दिए ।
ति सदस्यका अनुसार मन्त्रीले शुक्रवार प्रतियोगिता नहुने विषयमा बैठकमा धारणा राखेको थिए । यसअघि एमाले निकट परिषदका उपाध्यक्ष ध्रुव आर्चायसहित बोर्ड सदस्यले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । त्यसपछि दशौं सार्ने विषयले प्राथमिकता पाएको ति सदस्यको भनाइ छ ।
आफैले बोलेको कुरा बिसिन्छन् चौधरी
गत २५ फाल्गुनमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी जेठमा हुने भनिएको दशौँ राष्ट्रिय प्रतियोगिता तोकिएकै समयमा सञ्चालन हुने बताए । दशौँ राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय उद्घाटनका क्रममा बोल्दै मन्त्री चौधरीले अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्न नपर्ने ठोकुवा गरेका थिए ।
उनले दशौँ राष्ट्रिय खेलकुदको प्राविधिक समस्याका कारण बारम्बार मिति सारेको र अब सम्पुर्ण तयारी पूरा भइसकेको हुँदा मिति सर्नेमा शंका गर्नु ठाउँ नरहेको दाबी गरेका थिए । खेल सञ्चालनका लागि टेण्डर प्रक्रिया, समिति गठन, खरिदलगायतका आवश्यक कार्यमा काम भइरहेको मन्त्री चौधरीले उक्त समयमा बताएका थिए । ‘पहिले प्राविधिक समस्याले सर्यो, अब कुनै पनि हालतमा तलमाथि, यता उता भनेर प्रतियोगिता सर्दैन ।,’
याे हेर्नुहाेस् – अब कुनै पनि बहानामा १०औँ राष्ट्रिय खेलकुदको मिति सर्दैन : खेलकुद मन्त्री चौधरी
उनले भनेका थिए, ‘टेण्डर खरिद लगायतका काम अगाडि बढिसकेको छ । ‘मिति सार्दा सार्दै जेठमा पुग्यो । अब पनि मिति सारियो भने भागेर जाने अन्त कतै ठाउँ छैन, अन्तिम पटक तोकिएकै समयमा खेलकुद सञ्चालन हुनेछ ।,’ उनले यसरी प्रतियोगिता सर्दैन भन्दै ठोकुवा गरेपछि कार्यक्रममा सहभागि भएका खेलाडिबाट तालीको ओइरो लागेको थियो । खेलाडी तथा अन्य सहभागिहरुको मुहारमा खुसी छाएको थियो । तर मन्त्री चौधरीले यसले सार्वजनिक कार्यक्रममा बोलेकै कुरा आफैले बिर्सिएका छन् ।
प्रतियोगितामा घिसिङको जोडबल, चौधरीको बहानाबाजी
प्रतियोगिता जेठमा गर्ने तयारीका साथ गत चैत्र ५ गते दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको थियो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा मन्त्री चौधरी र राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरेका थिए । सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुदको डेडिकेटेड वेबसाइट सार्वजनिक गरेका थिए ।
याे पनि हेर्नुहाेस् – कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
उक्त समयमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले राष्ट्रिय खेलकुदलाई लक्षित गरी तयार गरेको उत्कृष्ट पूर्वाधारका लागि कर्णाली प्रदेशलाई धन्यवादसमेत दिएका थिए । यस्तै गत फागुन २५ गते मन्त्री चौधरी आफै सुर्खेत आएर खेलकुदका लागि मूल आयोजक सचिवालय समेत उद्घाटन गरे ।
उनले कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको रंगशाला परिसरमा मुख्यमन्त्री कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका नगर प्रमुख मोहनमाया ढकाललगायतको सहभागितामा सचिवालयको उद्घाटन गरेका थिए ।
यति तयारी भइसक्दा पनि शुक्रवारको बैठकमा भने चौधरीले जेठमा प्रतियोगिता नहुने खुलासा गरे । उनले प्रतियोगिता सार्ने निधो गरेसँगै मन्त्री चौधरीको व्यापक टिकाटिप्पणी हुन सुरु भएको छ । दशौं राष्ट्रिय खेलकुद समयमै गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ जोडबल गर्दै आएका छन् । तर मन्त्री चौधरीले प्रतियोगिता सार्नका लागि निकै बहानाबाजी गरीरहेका छन् । यस्तै कर्णाली प्रदेश खेलकुद विकास परिषद् समेत लामो समयदेखि सदस्य सचिवविहीन छ ।
किन स¥यो प्रतियोगिता ?
बारम्बार सर्दै आएको प्रतियोगिताको मिति तेस्रो पटकलाई सरेको छ । प्रतियोगिता किन सारिएको हो भन्ने विषयमा सिद्धदर्शन दैनिकले बुझ्ना खोज्दा मन्त्री चौधरीले कुनै जवाफ दिएनन् । बरु उनले आफु एउटा बैठकमा भएको बताएर फोन काटेका थिए । तर राष्ट्रिय खेलकुद परिषद्ले सुचना जारी गर्दै विभिन्न कारणहरु औल्याएको छ ।
प्रतियोगिताको मिति नजिकिदै गए पनि हालसम्म कुन खेल कहाँ कहाँ सम्पन्न गर्ने भन्ने कुराको टुंगो लागिनसकेको, मुख्य प्रतियोगिता स्थल सुर्खेत रंगशालाको भौतिक पुर्वाधार निर्माण सम्पन्न भइनसकेको, मापदण्ड विपरित र कमशल संरचनामा खेलहरु खेलाईदा अनेक दुर्घटनाको जोखिम हुनसक्ने खतरा भएकाले प्रतियोगिता तोकिएको मितिमा नहुने उल्लेख गरेको छ ।
यस्तै अहिलेसम्म खेलाडी छनौट नै हुन नसकेको र त्यसबारे प्रदेशहरुबाट विवरण नै प्राप्त नभएको खेल सामग्रीको टेण्डर नै नभएको, कानुनीप्रक्या अनुसार अब टेण्डर आब्हान गरेर प्रतियोगिता सम्पन्न गर्न सम्भव नभएको, प्रतिकूल मौसम, अत्यधिक गर्मी मौसम, खानेपानीको अभाव, विद्युत आपूर्तिमा समस्या, खेलाडी, दर्शक तथा अन्य सरोकारवालाहरुको स्वास्थ्यमा प्रतिकूल अवस्था उत्पन्न हुने जस्ता समस्यालाई ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरेको जनाएको छ ।
यस्तै प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट बिनियोजित बजेटबाट विषयगत रुपमा शिर्षक बाँडफाँड र एलएमबिआईएस समेत हुनबाँकी कतिपय खरिद तथा टेण्डर प्रकृया अघि विषयगत उपसमिति गठन नभएको, त्यसबारे उपसमितिहरुले छलफल, राय, सल्लाह, कानुनीप्रक्रिया लगायतकाबिषयमा छलफल नै हुन नपाएकोले यस्तो त्रुटिपूर्ण प्रकृयाले समस्या उत्पन्न हुनसक्ने, खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुको संख्या समेत निर्धारण हुन नसकेको हुँदा जेठमा प्रतियोगिता नहुने जनाएको छ ।
यस्तै अहिलेकै अवस्थामा प्रतियोगिता सञ्चालन गर्न सकिने नसकिने कुरामा कर्णाली प्रदेश सरकार समेत अन्यौलमा रहेको, परिषद्मा कार्यरत कर्मचारीहरुबाटसमेत यही अवस्था र हतारमा व्यवस्थित रुपमा प्रतियोगिता सम्पन्न गर्न सम्भव नभएको भन्दै परिषद्ले यी र यस्ता अनेक कारणहरुबाट तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न र प्रभावकारी तरिकाले सम्पन्न गर्न सम्भवना नदेखिएको बताउँदै आवश्यक संपूर्ण तयारी र कानुनी प्रयाहरु विना नै प्रतियोगिता आयोजना गर्दा नकारात्मक परिणाम आउन सक्ने भएकोले जेठ ३ को सट्टा अर्काे उपयुक्त मितिमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।
यी समाचार पनि हेर्नुहाेस् –
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको कार्यविधि पारित गर्ने प्रक्रिया अघि बढ्यो