
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक ‘कर्णाली छोरी सम्मेलन’ आयोजना हुने भएको छ । श्री ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा २७ देखि २९ वैशाखसम्म ‘कर्णाली छोरी सम्मेलन– २०८२’ आयोजना हुने भएको हो । सम्मेलनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले कर्णाली प्रदेशमा फरक स्वरुप र प्रकृतिमा छोरी सम्मेलन आयोजना गर्न लागिएको बताइन् ।
‘कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सवल, सक्षम तथा आत्मनिर्भर कर्णालीका छोरीहरूको निर्माण र विकासमा सघाउ पुर्याउनु हाम्रो उद्देश्य हो,’ अध्यक्ष कटुवालले भनिन्, ‘यो सम्मेलन एक सम्मेलन मात्र नभएर कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउने एक सामाजिक सन्देश प्रवाह गर्ने जमर्को हो ।’
सम्मेलन कर्णालीका छोरीहरू सशक्तीकरणको एक गतिशील अभियान भएको उनको दाबी छ । कर्णालीका छोरीहरू आफैँमा कमजोर नभई अधिकार र अवसरबाट वञ्चित हुँदा कमजोर देखिएका हुन् भन्ने वास्तविकताको बोध गराउनु सम्मेलनको मूल ध्येय भएको उनको भनाइ छ ।
सम्मेलनमा हरेक दिन छोरीका मनका कुरा, प्रवचन तथा बहस कार्यक्रमहरू संचालन हुनेछन् भने छोरीका मनका कुरा शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाइहरू सुनाउनेछन् । यसका साथै सिर्जनशील छोरीहरूलाई प्रतिभा प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिने आयोजकले जनाएका छन् ।