२०८३ वैशाख २६ , शनिबार

वीरेन्द्रनगरमा भोलि रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण हुँदै



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश समितिद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम भोलि शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ। कर्णालीमा पार्टी संरचना प्रदेश, जिल्ला र पालिकातहसम्म थप मजबुत बनाउने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको हो।

पार्टीको केन्द्रीय प्रशिक्षण विभागका अनुसार अन्य सबै प्रदेशमा प्रशिक्षण सकिएको र बाँकी रहेको कर्णालीमा भोलि कार्यक्रम संचालन गर्ने तयारी पूरा भएको छ। प्रशिक्षणमा पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, कर्णाली इन्चार्ज गणेश पराजुली, केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदी, केन्द्रीय सदस्य बिनिता कठायतलगायतका नेताहरूको उपस्थिति रहने छ।

रास्वपाले वीरेन्द्रनगरस्थित अशोका होटलमा प्रदेश र केन्द्रका नेता–कार्यकर्ताको भेला गरी प्रशिक्षण सञ्चालन गर्न लागेको प्रदेश सभापति मदन खड्काले बताए। उनका अनुसार पार्टी स्थापनाका केही वर्षमै सदस्य संख्या उल्लेख्य रूपमा बढ्दै गएपछि आधिकारिक दस्तावेज, नीति तथा कार्यक्रम तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन प्रशिक्षणको आयोजना गरिएको उनको भनाई छ।

उनकाअनुसार प्रशिक्षणमार्फत प्रत्येक पालिकामा संगठन विस्तार, पार्टीलाई थप बलियो बनाउने तथा जनतासम्म कार्यक्रम पुर्‍याउने लक्ष्य राखिएको छ। कार्यक्रममा स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशका पदाधिकारीसहित करिब ३ सयभन्दा बढी सहभागी रहने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार