सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ। १० जिल्ला रहेको कर्णालीका सबै निर्वाचन क्षेत्रमा पार्टीले उम्मेदवार चयन गरेको हो।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले कर्णाली प्रदेशका सबै जिल्लाका उम्मेदवार तय गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार सुर्खेत क्षेत्र नं. १ बाट ध्रुव शाही र क्षेत्र नं. २ बाट कुलमणि देवकोटा उम्मेदवार बनेका छन्। क्षेत्र नं. १ बाट उम्मेदवार बनेका शाही एमाले कर्णाली प्रदेश कमिटीका सचिव हुन्।
उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए भने २०७९ सालमा पराजित भएका थिए। सुर्खेत क्षेत्र नं. २ बाट उम्मेदवार बनेका देवकोटा हाल एमाले सुर्खेतका अध्यक्ष हुन्। यसैगरी दैलेख क्षेत्र नं. १ बाट रविन्द्रराज शर्मा र क्षेत्र नं. २ बाट लक्ष्मी पोखरेललाई उम्मेदवार बनाइएको छ। जाजरकोटबाट डम्मरबहादुर सिंह, सल्यानबाट गुलाबजंग शाह र रुकुम पश्चिमबाट नन्दराम देवकोटा उम्मेदवार चयन भएका छन्।
त्यस्तै कालिकोटबाट नागेन्द्र शाही (नेसनल), जुम्लाबाट शान्तिबहादुर महत, मुगुबाट पूर्णबहादुर रोकाया, हुम्लाबाट दल फडेरा र डोल्पाबाट लङ्क रोकायालाई उम्मेदवार बनाइएको पार्टीले जनाएको छ।