
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले कर्णालीलाई बजेटमा पहिलो प्राथमिकता दिनका लागि आफु प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभामा आठ दलीय गठबन्धन भित्रका प्रदेश सांसदहरूलाई राष्ट्रपति निर्वाचनका सन्दर्भमा अभिमुखीकरण कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उपसभापति खड्काले यस्तो बताएका हुन् । अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति खड्काले तत्काल बनेको आठ दलीय गठबन्धन आगामी पाँच वर्षसम्म नटुट्ने समेत दाबी गरेका छन् । उनले अहिलेको यो गठबन्धनले संघमा थुपारेर राखेका अधिकारीहरू संघीय संरचना अनुसार तल्लो तहसम्म विस्तार गर्ने, राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा गर्ने कार्यमा पूरा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नै उपयुक्त रहेको धारणा राखे ।
यस्तै कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गठबन्धनले आर्थिक, प्रशासनिक अधिकार सहितको संघीयतालाई जोड दिनुपर्ने बताए । उनले विगतका सरकारहरूले प्रदेश संरचनालाई हात बाँधेकै कारण परिणाम नआएको बताउँदै यसले नागरिकलाई व्यवस्थाप्रति नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको बताए । कार्यक्रममा सहभागी सबै प्रदेश सांसदहरूले आठ दलीय गठबन्धनको निर्णयअनुसार नै राष्ट्रपति निर्वाचनमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन् । अभिमुखिकरणमा नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा, एकिकृत समाजवादीका केन्द्रीय सदस्य केदार कंडेल, नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष बिमला केसी, एकिकृत समाजवादीकी सांसद कल्याणी खड्का लगायतका शिर्ष नेताहरुको सहभागिता रहेको थियो ।