
रुकुम पश्चिम। रुकुम पश्चिमका वडावडामा नेकपा एमालेको ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन भएका छन् । नेकपा एमालेको केन्द्रिय कार्यक्रम अनुसार रुकुम पश्चिममा वडास्तरमा ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गरिएको एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले बताएका छन् । जिल्लास्तरीय मिसन ग्रासरुट सकिएसँगै गाउँ तथा नगरस्तरीय कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष देवकोटाले जानकारी दिए । केन्द्रिय कमिटीका सचिव योगेश भट्टराईले जिल्लास्तरमा उद्घाटन गरेको कार्यक्रम जिल्लाका छ वटा नगर पालिका तथा गाउँपालिकामा सम्पन्न गरेर ७३ वटै वडामा कार्यक्रममा जुटेको उनले बताए ।
वडास्तरका कार्यक्रममा पनि केन्द्रिय कमिटीकै सदस्य सहभागिता रहेको अध्यक्ष देवकोटाले जानकारी दिए । उनका अनुसार जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा केन्द्रिय सदस्य रतननाथ योगीको अगुवाइमा कार्यक्रम सञ्चालन भैरहेका छन् । यस्तै चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा केन्द्रिय सदस्य सिपी घर्ती र मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा केन्द्रिय सदस्य सूर्यकुमारी श्रेष्ठको अगुवाईमा मिसन ग्रासरुट अन्तर्गतका कार्यक्रमहरु सञ्चालन भैरहका छन् । रुकुम पश्चिममा फागुन ११ गतेबाट कार्यक्रम सञ्चालन शुरु भएको थियोे ।