सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागितालाई लिएर नेपाली कांग्रेसभित्र लफडा सुरु भएको छ । मंगलबार दिउँसो बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सुर्खेत–१ ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट ‘क’बाट निर्वाचित बेदराज सिंह र दैलेख–१ ‘क’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
त्यो निर्णय एकलौटी गरिएको भनी केही सांसदहरूले असन्तुष्ट जनाएपछि कर्णालीमा मन्त्रीको लागि हानथाप सुरु भएको छ । जसका कारण नेपाली काँग्रेसबाट सरकारमा सहभागी भएका तीन मन्त्रीको बुधवार हुने भनिएको शपथसमेत अन्तिममा आएर रोकिएको हो।
सिनियर नेतालाई सिफारिस नगरी रोल क्रम मिचेको भन्दै कर्णाली प्रदेशमा काँग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार रोकिएको हो । सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भनी काँग्रेसले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष तीन जनाको नाम सिफारिस गरिसकेको थियो ।
तर, जाजरकोटबाट राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंह लगायतका नेताहरूले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको काँग्रेस स्रोतले बताएको छ । यता, काँग्रेस सांसद जानकी सिंहले कांग्रेसभित्र विवादको प्रमुख कारण स्वयम् दलका नेता जीवनबहादुर शाही रहेको आरोप लगाईन। उनले पार्टीको विधानअनुसार मन्त्रीमा नाम सिफारिस हुनुपर्ने तर त्यसो नभएकाले आफु लगायत कर्णालीका आम जनताहरू यो निर्णयमा असन्तुष्ट रहेको जानकारी बताईन् ।
उनले सिनियर नेताहरूलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै सबै नेताहरूले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएको र यसको उजुरी केन्द्रमा गरिएको जानकारी दिईन । ‘विधान त हेर्नुप¥यो नि, प्रदेश कमिटीको निर्णय एकातिर भयो दलका नेताले अर्कोतिर चयन गर्दा विवाद आएको हो, सरकारमा ३३ प्रतिशत महिला सहभागी हुने भन्ने छ तर, यहाँ दलका नेताले हामीलाई खबरै नगरी एकलौटी निर्णय गर्नुभयो, काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलका नेता शाहीलाई बारम्बार फोन गर्दा पनि नउठाउने र आफैले एकलौटी निर्णय गरे,’ सिंहले भनिन् ।
खबरदृष्टिले तपाई आफू मन्त्री हुन नपाउँदा असन्तुष्ट जनाउनुभएको हो ? भन्ने प्रश्नमा उनले मंगलवार गरिएको निर्णय एकलौटी तथा विद्यान अनुसार नभएको बताउँदै यस निर्णयप्रति आफू मात्र नभई कर्णालीका जनता समेतले असन्तुष्ट जनाएको जानकारी दिइन् । सिंहले काँग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई फोन गरी मन्त्री बनाउँदा न्याय गर्न आग्रह गरे पनि शाहीले नमानेर मनोमानी गरेपछि बुधवार देउवाले मुख्यमन्त्री राजकुमार शर्मालाई फोन गरी शपथ रोक्न आग्रह गरेको सिंहले जानकारी दिइन् ।
यसबारेमा थप जानकारी लिन खोज्दा कांग्रेस सांसद राजीवविक्रम शाहले आफू अन्यायमा परेको समेत बताए । खबरदृष्टिले सिंहलाई अब मन्त्री हुने सम्भावनामा को देखिन्छ त भन्ने प्रश्न गर्दा सिनियर नेताहरूलाई नकार्न नमिल्नेमा आफु प्रष्ट रहेको बताईन्। यसले कर्णालीमा काँग्रेसबाट सिंह र शाह मन्त्री हुने वलियो सम्भावना देखिएको छ । शपथ कार्यक्रम किन रोकियो भन्ने प्रश्नमा काँग्रेसका संसदहरुले नै फरक फरक जवाफ दिने गरेका छन् ।
दैलेखबाट निर्वाचित सांसद पुर्णबहादुर खत्रीले सबैको सहमतिमा मंगलवार तीन जना मन्त्रीको नाम सिफारिस गरेको जानकारी दिए । सबैको सहमतिमा तीन जनाको नाम सिफारिस गरिएको हो ।’ खत्रीले भने, ‘किन उहाँहरुले असन्तुष्ट जनाउनुभयो यसबारेमा उहाँहरूलाई नै थाहा होला यसरी अन्तिममा आएर असन्तुष्ट नजनाउनुपर्ने हो ।’
यस्तै, अर्का काँग्रेसका एक जना सांसदले आफू मन्त्री हुने अपेक्षा गरेको हुँदा आफूलाई मन्त्री हुन नदिएपछि यस विषयमा आफूले कुनै पनि वास्ता नगरेको बताए । ‘म पनि मन्त्री हुने आसमा थिए, तरपनि मलाई मन्त्री हुन नदिएपछि शपथ कार्यक्रममा कुनै पनि ध्यान नदिएर दिनभर सुतिरहेको छु,’ उनले ठट्यौली पारामा भने ।