२०८३ वैशाख २७ , आइतबार

कर्णालीमा कांग्रेस भित्रको लफडा रोकियो, मन्त्रीको शपथ आज



सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागितालाई लिएर नेपाली कांग्रेसभित्र भएको लफडा रोकिएको छ । कर्णालीमा दलका नेता जीवनबहादुर शाहीले सिनियर नेताहरूलाई बाइपास गरि र समावेशीतालाई ध्यान नदिई मन्त्रीहरुलाई सरकारमा सिफारिस गरिएको विषयमा बुधवार विवाद भएको थियो ।

 

त्यो विवाद भने आज रोकिएको कांग्रेस स्रोतले बताएको छ । स्रोतका अनुसार केन्द्रबाट नै सहमति भएपछि विवाद रोकिएको र अब मंगलवार सिफारिस गरिएका तीन मन्त्रीको शपथ आज हुने भएको छ । आज दिउँसो १२ः३० बजे मन्त्रीहरुकाे शपथ कार्यक्रम तय भएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

 

मंगलबार दिउँसो बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सुर्खेत–१ ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट ‘क’बाट निर्वाचित बेदराज सिंह र दैलेख–१ ‘क’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

 

अर्थमा सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसीलाई दलका नेता शाहीले सिफारिस गरेका थिए । तर, त्यो निर्णय एकलौटी गरिएको र सिनियर नेताहरुलार्ई बेवास्ता गरीएको भनि बुधवार केही सांसदहरूले असन्तुष्ट जनाएका थिए ।

 

त्यो कुरा शाह पक्षले पार्टी केन्द्रलाई राखेपछि केन्द्रबाट नै दबाब आएकाले मुख्यमन्त्री शर्माले बुधवारको शपथ कार्यक्रम रोकेका थिए । यता, दैलेखबाट निर्वाचित सांसद पुर्णबहादुर खत्रीले सबैको सहमतिमा मंगलवार तीन जना मन्त्रीको नाम सिफारिस गरेको बताएका थिए ।

प्रकाशित मिति : २०८० वैशाख ७ गते बिहीबार