२०८३ वैशाख २७ , आइतबार

मुख्यमन्त्री शर्मा तेस्रो पटक विश्वासको मत लिँदै



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार तेस्रो पटक विश्वासको मत लिने भएका छन् । माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले पुनः चैत १७ गते विश्वासको मत लिएका थिए ।

 

राप्रपाले समर्थन फिर्ता लिएसँगै उनले दोस्रो पटक विश्वासको मत लिएका थिए भने यस पटक भने एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

 

शर्माले आइतबार प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने प्रायोजनसम्बन्धी पत्र दर्ता गराइसकेका छन् । प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले शुक्रबार दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकबाट शर्माले विश्वासको मत लिने गरी पत्र दर्ता गराएका हुन् ।

 

पहिलो पटक मुख्यमन्त्री शर्मा विश्वासको मत प्राप्त गर्दा ४० सांसद मध्ये २५ सांसदको मत लिन सफल भएका थिए । दोस्रो पटक विश्वासको मत लिँदा प्रदेश सभाको ९५ प्रतिशत अर्थात ३८ मत प्राप्त गर्न सफल भएका थिए ।

 

उनलाई सदनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एस, र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । उनको विपक्षमा राप्रपाका सांसद सन्तोषी शाहीले मात्रै मत दिएकी थिइन् ।४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा कूल ३९ जनाको सहभागिता रहेको थियो ।

 

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र स्वतन्त्रका १/१ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : २०८० वैशाख १० गते आइतबार