सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत पाएका छन् । आज (शुक्रवार) बसेको कर्णाली प्रदेश सभाको वैठकमा उनले तेस्रो पटक विश्वासको मत पाएका हुन् ।
६ माघमा पहिलोपटक र १७ चैतमा दोस्रो पटक विश्वासको मत पाएका शर्माले आज (शुक्रवार) संसद्बाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । पहिलाे पटक विश्वासको मत प्राप्त गर्दा ४० मध्ये २५ सांसदको मत लिन सफल भएका मुख्यमन्त्री शर्माले दोश्रो पटक ३८ मत प्राप्त गरेका थिए ।
उनले आज (शुक्रवार) विश्वासको मत लिँदा २९ मत प्राप्त गर्न सफल भएका छन् । उनलाई सदनमा नेकपा माओवादी केन्द्र सहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । उनको विपक्षमा नेकपा एमाले र राप्रपाले मत दिएको थियो ।
४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज (शुक्रवार) कूल ३९ जनाको सहभागिता रहेको थियो । उनको पक्षमा २९ मत परेको छ भने विपक्षमा १० मत परेको सभामुख नन्दा गुरुङले जानकारी दिइन् ।