रुकुम पश्चिम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ५ मा बाख्रा खरिदमा अनियमितता भएको पाइएको छ । बाख्रा पकेट कार्यक्रम लागू गरी गरिबी हटाउने उद्देश्यले कार्यक्रम लागू गरिएको हो ।
यस कार्यक्रमका लागि नेकपा एमालेकी कर्णाली प्रदेश सांसद तुलसा मल्लले सांसद विकास कोषबाट ८ लाख बजेट हालेकी थिइन् । तर लक्षित वर्ग पारिश्रमिक खरिद समिति गठन गरी बाख्रा खरिद गर्दा अनियमितता भएको स्थानीयको भनाइ छ ।
४० घरधुरीले बाख्रा पाउने गरी आठबिसकोट नगरपालिकाबाट समितिले बाख्रा खरिद गरेको थियो । तर समितिले ६ लाख रुपैयाँमा पाठा पाठी र माउ बाख्रा एउटै मूल्यमा खरिद गरेको छ । ८ लाखमा खरिद गर्नुपर्ने बाख्रा ६ लाखमा खरिद गरेको बाफिकोट ५ का स्थानीय उपेन्द्र केसीले बताए ।
४ महिनाको पाठा पाठीको मूल्य र माउ बाख्राको मूल्य बराबरमा समितिले खरिद गरेको उनको भनाइ छ । अर्का स्थानीय चन्द्रबहादुर शाही समितिले खरिद गरेका सबै बाख्राको मूल्य एउटै नपर्ने बताए । बाख्रा खरिद गर्दा ठुलो र सानोको मूल्य फरक पर्ने शाहीको भनाइ छ ।
समितिका अध्यक्ष खड्गबहादुर पुनका अनुसार आफूले बाख्रा खरिद गर्दा पाठा पाठी र माउ बाख्राको मूल्य एउटै परेको बताए । बाख्रा फर्मसँग एउटै मूल्यका बाख्रा रहेको र त्यहीअनुसार बाख्रा खरिद गरिएको उनको भनाइ छ ।
बाफिकोटका पशु शाखा प्रमुख कृष्ण खत्रीका अनुसार साना ठुला बाख्रा हुनु स्वाभाविकै रहेको भए पनि खरिद गर्दा मूल्य भने एउटै रहेको बताए । एक/दुई वटा बाख्रा साना रहेको र त्यसप्रति चित्त नबुझेका कारण स्थानीयले सामाजिक सञ्जालमा फोटो हालेको प्रमुख खत्रीको भनाइ छ ।
जिल्ला पशु अस्पतालका कार्यालय प्रमुख ज्ञानु शर्माले सांसद तुलसा मल्लको सांसद विकास कोषबाट रकम आएको र ४० घरधुरीलाई बाख्रा दिने गरी इस्टिमेट गराएर पठाएको बताए । आफूलाई यस विषयमा जानकारी नआएको र केही जानकारी आएमा छानबिन गर्ने प्रमुख शर्माले बताए । आफूले यसको फिल्डमै गएर छानबिन लिने र समितिलाई स्पष्टीकरण माग्ने पनि उनले बताए ।