हुम्ला । हुम्लामा तीन वर्षपछि पहिलोपटक विशेषज्ञ सेवासहितको निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन भएको छ । सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिका तथा स्वास्थ्य सेवा कार्यालयको आयोजनामा जिल्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा उक्त स्वास्थ्य शिविर बिहीबारबाट सञ्चालन भएको हो ।
स्वास्थ्य शिविरमा जिल्लाका करिब १२ सयभन्दा बढी सेवाग्राहीले सेवा लिने अपेक्षा गरिएको छ । बिहीबार मात्रै ८ सय ४९ जनाले शिविरबाट स्वास्थ्य सेवा लिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । विभिन्न रोगको उपचार गर्न आएका सेवाग्राहीले शिविरमा सेवा प्रवाह राम्रो भएको बताए ।
हुम्लाका स्थानीयको स्वास्थ्य अवस्था बुझ्न तथा रोग लागेको भए समयमै उपचार गराउन सहयोग पुग्ने हेतुले शिविर सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले बताए ।
बिहीबारबाट शुरु भएको विशेषज्ञ सेवासहितको निःशुल्क बृृहत् एकीकृत स्वास्थ्य शिविर जेठ २७ गतेसम्म बिहान ८ बजेबाट ४ बजेसम्म सञ्चालन हुनेछ । कोरोनाका कारण तीन वर्षसम्म जिल्लामा कुनै विशेषज्ञ सेवासहितको बृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन भएको थिएन ।