२०८३ वैशाख २७ , आइतबार

विपक्षी दलका सांसदहरुले भने – कर्णालीमा बजेट ल्याउँदा तत्कालको फाइदा हेरियो !



सुर्खेत । कर्णाली प्रदेश सभामा आगामी आर्थिक बर्षको लागि ल्याएको बजेटमाथीको छलफल शुरु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले संसदमा प्रस्तुत गरेको बजेटमाथीको छलफल सोमवारबाट शुरु भएको हो ।

संसदको सोमबारको बैठकमा भएको बजेट माथीको छलफलमा भाग लिँदै सांसदहरुले बजेटले दिर्घकालिन सोच नराखेको बताएका छन् । विशेषगरी विपक्षी दलका सांसदहरुले बजेट ल्याउँदा तत्कालको फाइदा हेरेर ल्याइएको भन्दै जनताको जीवनमा परिवर्तन आउने खालको नभएको बताएका छन् ।

बजेट माथीको छलफलमा भाग लिँदै नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकारले ल्याएको बजेटले उत्साहजनक नभएको बताएका छन् । उनले सरकारले वितरणलाई प्रोत्साहन दिनेगरी बजेट ल्याएको बताए । साथै नेता कँडेलले तत्काल केही व्यक्तीलाई फाइदा हुने बाहेक अरु केही नभएको टिप्पणी समेत गरेका छन् ।

सत्ता पक्षका सांसदहरुले नै बजेटको आलोचना गरेका छन् । पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका माओवादी केन्द्रका सांसद बिन्दमान विष्टले यर्थातपुरक बजेट नभएको बताए ।

सांसद तुलसा मल्लले भनाई र गराई फरक हुनेगरी बजेट ल्याइएको बताइन् । सांसदहरु जानकी सिंह, पूर्ण बहादुर खत्री चालिसे र सुरेश अधिकारीले बजेटमाथी छलफलमा भाग लिदै बजेट कार्यान्वयनमा जोड दिएका छन् ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमबार