रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसीयल) रुकुम पश्चिमले भ्रष्टाचार विरुद्ध खबरदारी अभियान सञ्चालन गर्ने भएको छ ।
सङ्गठनको १७ औँ जिल्ला समिति बैठकले जिल्लाभरिका सबै विकास निर्माणका कामकाजमा भए गरेको ढिला सुस्ती, सौदाबाजी, भ्रष्टाचारका विरुद्ध अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसको नेतृत्व जिल्ला इन्चार्ज जनककुमार विश्वकर्माले गर्ने र जिल्लाभरिका सबै सदस्यहरूको सहभागिता रहने बैठकले निर्णय गरेको छ । त्यस्तै वाइसीयलले विपद्बाट हुनसक्ने क्षतिलाई कम गर्न प्रतिकार्य समूह बनाएको छ ।
जिल्ला विश्वकर्माको नेतृत्वमा एक सय सदस्यीय समूह गठन गरिएको छ । यो समूह जिल्लाका कुनै पनि ठाउँमा विपद्का घटना भएमा उद्धारका लागि खटिने इन्चार्ज विश्वकर्माले बताए । साथै सङ्गठनले बेरोजगारहरूको सङ्ख्या यकिन गरी उत्पादन कार्यमा सहभागी बनाएर स्वरोजगार बनाउने उद्देश्य समेत लिएको छ ।