
सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अबरुद्ध गरेको छ । आज प्रदेश सभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको थियो । तर, सदन सुरु भए लगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाँडिएको र यसबाट प्रदेशको विकास र परिवर्तन सम्भवन नहुने बताए ।
साथै उनले बजेटमा पुर्ण रुपमा बिचौलिया प्रवेश गरेको पनि बताए । साथै उनले बजेट निर्माणमा योजना आयोगबाट नै बार्गेनिङ भएको र आयोगले बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही गरेपनि नाम गोप्य राखेको भन्दै आपत्ति जनाए ।
स्वंयम अर्थमन्त्रीले नै बजेट निर्माणमा दबाब आएको कुरा सार्वजनिक गरेपछि एमालेले सोही विषयलाई हतियार बनाएको हो । लगत्तै एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर सदन अवरोध गर्यो । सभामुख नन्दा गुरुङले पटक–पटक सभा सञ्चालनमा समेत सहयोग गर्न आग्रह गर्दा पनि नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको हो ।