सुर्खेत । जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहीवार वीरेन्द्रनगरमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कमिटी सुर्खेतको ओयाजना र मदन भण्डारी फाउन्डेसन कर्णाली प्रदेशको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बृहत् रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले रक्तदान कार्यक्रम आयोजना गरेकाेमा आयोजकलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा बोल्दै उनले मदन भण्डारीको मात्रै नाम लिएर हामी सबैले जिविकोपार्जन गर्न नसकिने भन्दै आ–आफ्नो ठाउँबाट बलियो भएर लाग्नुपपर्ने अबस्था आएको बताए ।
नेता कँडेलले अहिले नेपाली राजनीतिक जनताको पक्षमा नभई पद जोगाउनप्रति अगाडि बढिरहेको बताए । साथै उनले एमाले पार्टी मात्रै जनताको पक्षमा भएकाले एमालेलाई कसैले पनि रोक्न नसक्ने दाबी गरे । वि.सं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा दुर्घटनामा परी निधन भएको थियो ।