२०८३ वैशाख ४ , शुक्रबार

मानव अधिकार सङ्कटमा छ : मन्त्री भण्डारी



सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मानव अधिकार सङ्कटमा रहेको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको सुर्खेतस्थित कार्यालयद्वारा आयोजित ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले स्वार्थ केन्द्रित मानवीय चेतको कारण समाजमा मानव अधिकार सङ्कटमा रहेको बताएका हुन् ।

केही कुप्रथाहरूको सन्दर्भमा बाहेक वर्तमानको तुलनामा विगत नै मानव अधिकार संरक्षण ठिक भएको बताए। परम्परागत मूल्य मान्यता हराउँदै गर्दा पनि अमानवीय घटनाहरू भइरहेको जिकिर गरे। सन्तानबाट अभिभावक र अभिभावकबाट बालबालिका जोखिम भइरहेको बताए । नागरिकलाई राहत दिने भन्दा अनुगमनकर्ता र संस्थाहरूको निर्देशन मात्र सङ्ख्या बढेको बताउँदै अधिकारको सचेतना जगाउँदै गर्दा कर्तव्यतर्फ ध्यान नदिने गरेकोले पनि यस किसिमका घटना हुने गरेको धारणा राखे।

मानव अधिकारको संरक्षण, संवर्द्धन, सहभागिताको अधिकार लगायतका अपरिहार्य विषयका सन्दर्भमा सरकारको तर्फबाट गर्नुपर्ने कामहरूमा तदारुकता प्रकट गर्ने प्रतिबद्धता जनाए। साथै, मानवता प्रवर्द्धनका कार्यमा सक्रियता, सहकार्य, समन्वय र एकताका साथ हातेमालो गर्न अपिल गरे।

प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार