डोल्पा । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले झापाबाट चुनाव लड्ने चर्चा चलिरहेको छ। बालेनले झापाबाट उम्मेदवारी दिएर जित्ने चर्चा चलिरहेकै बेला हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्षले भने बालेनले झापाबाट चुनाव जिते आफू देश छाड्ने घोषणा गरेका छन्।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंक थापा (विकास) ले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बालेन सामाजिक सञ्जालको लोकप्रियता वास्तविक मतदानमा परिणत नहुने दाबी गरेका छन्।
थापाले लेखेका छन्, ‘सामाजिक सञ्जालमा लाइक गरेजस्तो भोट आउने भए त बालेन उतिखेरै प्रधानमन्त्री भइसक्थे होलान्। टाढाबाट नियालेर हेर्छु, फागुन २१ गते बालेनले झापाबाट जिते भने म यो देश छोड्दिन्छु।,’ वडाध्यक्ष थापा २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन्।