
काठमाडौँ । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’को हैसियतमा विज्ञप्ति जारी गरेको विषयलाई गम्भीर रूपमा लिँदै कारबाहीको तयारी थालेको छ। शनिबार बिहान केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीको विरोधमा खड्काले विज्ञप्ति निकालेका थिए। उक्त कदम पार्टीको संस्थागत निर्णयबाहिर भएको भन्दै कांग्रेस नेतृत्व असन्तुष्ट बनेको हो।
कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिक निर्णय बिना यस्तो विज्ञप्ति निकाल्नु अनुशासनविपरीत भएको बताएका छन्। उनकाअनुसार कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति निकाल्नु पार्टीको मर्यादा र प्रक्रियाभित्र पर्दैन भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे।
यस विषयमा शनिबार सामान्य छलफल भए पनि आइतबार पदाधिकारी बैठक बसेर औपचारिक निर्णय गरिने तयारी छ। बैठकमा खड्काविरुद्ध अनुशासनात्मक कारबाही, यहाँसम्म कि उनको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने विषयमा समेत छलफल हुने जनाइएको छ।