२०८३ वैशाख २ , बुधबार

‘कार्यवाहक सभापति’ भन्दै विज्ञप्ति निकाल्ने खड्कालाई कांग्रेसले गरायो सचेत

फेरि दोहोर्‍याए कारबाही गर्ने चेतावनी


काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन आयोगले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराएको छ। बुधबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले खड्कालाई सचेत गराउने निर्णय गरेको हो।

गत शनिबार बिहान एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए।

‘कार्यवाहक सभापति’का रूपमा खड्काले विज्ञप्ति जारी गरेको विषयमा सचेत गराएको कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले बताए। उनले समानान्तर गतिविधिको नेतृत्व गरिरहेका खड्काले फेरि त्यो गतिविधि दोहोर्‍याए कारबाही गर्ने निष्कर्ष निकालेको बताए ।

बैठकको निर्णयबारे जानकारी दिँदै संयोजक गुरुङले भने, ‘विभिन्न सामाजिक सञ्जाल र मिडियामा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ।’ अब उपरान्त यस्तो काम गर्ने जो कोही व्यक्तिमाथि कांग्रेसले कारबाही प्रक्रिया अगाडि बढाउने गुरुङको भनाइ छ।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार